काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारका पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढाएको छ । सोही क्रममा राजस्व अनुसन्धान विभागका अधिकारीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालका साथै आरजु राणा देउवा, दीपक खड्काको निवासमा अनुसन्धानका लागि पुगेका छन् ।
विभागका अनुसार प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलसहित विभागका अधिकारीहरु अनुसन्धानका लागि नेताहरुको निवासमा पुगेका हुन् । विभागका अधिकारीहरुले कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ, एमालेका अध्यक्ष ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर मुचुल्का उठाएका छन् । उनीहरुले नेपाली कांग्रेसकै केन्द्रीय सदस्य एवम् पूर्वऊर्जामन्त्री खड्काको बुढानीलकण्ठस्थित निवासको समेत मुचुल्का उठाएका हुन् ।
विभागका एक अधिकारीका अनुसार देउवा, ओली, प्रचण्ड र खड्काको घरमा पुगेर मुचुल्का गर्दा केही डढेका नोटहरु भेटिएको हो । अनुसन्धानको क्रममा आगलागीबाट डढेका नोटहरुबाहेक अन्य केही भेटिएको छैन, हाल मुचुल्का गरेका प्रमाणले सम्पत्ति शुद्धीकरणमा दोषी करार गर्न सकिँदैन, जायजेथा सम्पत्ति, सार्वजनिक पदमा बसेका बेला आम्दानी भएका सम्पत्ति, बैंक खातामा जम्मा भएका विवरणलगायत संकलन गर्ने÷नगर्नेबारे समन्वयको काम भइरहेको अधिकारीको भनाइ छ । विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाइएको छ । पूर्वप्रधानमन्त्री देउवा, निर्वतमान परराष्ट्रमन्त्री राणा र ऊर्जामन्त्री खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको छ, ती प्रमाणहरु परीक्षण गर्नु आवश्यक रहेको विभागका अधिकारीहरुको भनाइ छ ।
बुढानीलकण्ठस्थित देउवाको घरमा विदेशी नोट र नेपाली रुपैयाँ (हजार÷पाँच सयका नोट) जलेको टुक्राहरू भेटिएका छन् ।
बुढानीलकण्ठस्थित देउवाको घरमा विदेशी मुद्रा र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो । दाहालको निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको भनेर भिडियो भाइरल बनेका थिए । सामाजिक सञ्जालमा जलेको नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।
खड्काको घरबाट पैसा फालेको भिडियो समेत सार्वजनिक भएको थियो । गत भदौ २४ गते जेन–जीको प्रदर्शनका क्रममा देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो ।
अधिकांश नेताहरुमाथि अवैधानिक तवरले सम्पत्ति संकलन गरेको आरोप लागेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध ‘मेलम्ची प्रवेशमार्ग ठेक्का’मा भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार नियन्त्रण शाही आयोगले पक्राउ गरी छानबिन गरेको थियो । उक्त प्रकरणमा देउवाका अतिरिक्त पूर्वमन्त्री प्रकाशमान सिंहसहित कर्मचारीलाई नियन्त्रणमा लिँदै अनुसन्धान गरेको थियो । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायतका देशमा लैजाने प्रकरणमा आरजु राणा संलग्न भएको आरोप लागेको थियो । उक्त प्रकरणमा कांग्रेसी नेता राणा मात्र नभई पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको थियो ।
दीपक खड्का भने जलविद्युत्, स्काउटको जग्गा प्रयोग विषयमा विवादित व्यक्ति हुन् । उनले पदको दुरुपयोग गरी सम्पत्ति संकलन गर्ने गरेको आरोप लागेको छ । उनले ऊर्जा मन्त्री हुँदा एक सय छ मेगावाट जगदुल्लाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रियाअघि बढाएकोलगायतका विवादित निर्णयहरु रहेको पाइन्छ । अर्थमन्त्री रामेश्वर खनालले सरकारको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मूलन गर्न र सोहीअनुरुप काम गर्नुपर्ने बताउँदै आएका छन् । उनले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार भ्रष्टाचारविरुद्ध प्रतिबद्ध हुन कर्मचारीलाई निर्देशन समेत दिएका थिए । सोही कारणले गर्दा भ्रष्टाचार निर्मूल गर्ने दायित्व अघि बढाउने काम वर्तमान सरकारको काँधमा रहेको छ ।