काठमाडौं । पुँजीबजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनः संरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूवात गर्न सुझाव दिएको छ ।
सो कार्यदलले पुँजीबजारमा आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै व्यक्तिको कर निर्धारणका क्रममा आय वर्षभित्र सामूहिक लगानी योजनामा लगानी गरेको निश्चित रकम कट्टी गर्न पाउने गरी आयकर ऐनमा व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सरकार (अर्थमन्त्रीस्तर)ले यही असोज ३ गते गठन गरेको सो कार्यदलले धितोपत्र बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थालाई समसामयिक पुनरावलोकन गर्न र सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्ने सम्बन्धमा रहेको जारी पुँजीको न्यूनतम १० प्रतिशतको सीमालाई पुनरावलोकन गर्न नियमावली संशोधन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।
प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘पुँजी बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिताको अवस्था, अन्य वैकल्पिक लगानीका अवसरको न्यूनता, दीर्घकालीन पुँजी परिचालनको राष्ट्रिय आवश्यकता, विद्यमान कानुनी व्यवस्था, स्रोतसाधनको उपलब्धता, संस्थागत क्षमता, सुधार कार्यान्वयनबाट आउन सक्ने असर र कार्यदललाई प्राप्त कार्यदेश समेतलाई मध्यनजर गरी पुँजीबजारको समस्या समाधानका लागि कार्यदलले देहायका सुधारका सुझाव प्रस्तुत गरेको छ ।’
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक सेयर खरिद बिक्री प्रक्रियाको विद्यमान व्यवस्था पुनरावलोकन गर्दै पुँजीबजारमा लगानीकर्ताको व्ययभार न्यूनीकरण गरी लागत प्रभावी बनाउन आवश्यक पुनरावलोकन गर्नुपर्ने पनि कार्यदलको सुझाव छ ।
नेप्सेका कर्मचारी आन्दोलनमै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेतृत्वले बिचौलियाको चाहनाअनुसार काम गरेको तथा सेवा सुविधासहितका अन्य विषयहरुलाई लिएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनका उत्रिएका कर्मचारीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याललाई कार्यालयमा प्रवेश निषेध गरेका छन् । आन्दोलनका क्रममा कार्यालयमा कालोपट्टी बाँधेर बसेका कर्मचारीहरू माग पूरा नभएसम्म अध्यक्षलाई छिर्न नदिने अडान लिएका छन् ।
अर्थ मन्त्रालय अनावश्यक खर्च कटौती गर्न परिपत्र जारी गरेसँगै नेप्सेका कर्मचारीहरु पनि बोनस सेयरको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पाँच प्रतिशत बोनस पाउन पर्छ भन्नै माग राख्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा कर्मचारीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंलाई मंगलबार राति अबेरसम्म कार्यकक्षमा नै थुनेर राखेका थिए । पछि नेपाल प्रहरीले हस्तक्षेप गरी अध्यक्ष र प्रमुख कार्यकारी दुवैलाई उद्धार गरी राति घर पठाएको थियो । यसैबीच, नेप्सेमा कार्यरत कर्मचारीहरुको छाता संगठनले भने नेप्सेका अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले बिचौलियाका एजेन्डाअनुसार काम गरेको आरोप लगाएका छन् । संगठनका अध्यक्ष नवराज थापाका अनुसार उच्च व्यवस्थापनसँग मंगलबार पनि यसबारेमा छलफल भए पनि नेतृत्वले सुध्रन नचाएकाले आन्दोलन गर्नुपरेको हो ।
छलफलका क्रममा व्यवस्थापन पक्षबाट सुरक्षा चुनौती बढेको भन्दै प्रहरी बोलाइएको र प्रहरी समेतको रोहबरमा छलफल भए पनि कुनै निकास ननिस्किएको संघले अध्यक्ष थापाले जानकारी दिए । यो अवस्थामा अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोलन जारी राख्छौँ, संघले अध्यक्ष थापाले भने ।