काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा ‘नव उद्यम कर्जा’ सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरूलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याइएको हो । कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ ।
यस प्रकारको कर्जामा १० लाखदेखि एक करोड रुपैयाँसम्म सीमा रहने र कर्जाको अवधि न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म रहनेछ । यस्तो कार्यबाट नेपाल फर्र्किएका युवाहरूलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता विकास गर्न, विप्रेषणमार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । साथै नेपालमै रहेका व्यक्तिहरूले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शीर्षकअन्तर्गत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब आठ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।