काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ । दुई पटकको टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १९ रनले पराजित गरेको हो ।
नेपालका लागि यो नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फुल टेस्ट टोलीसँगको खेल थियो । पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको छ ।
नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान एक विकेट आफ्नो नाममा गरे ।
वेस्ट इन्डिजका लागि नभिन विदाइसीले बनाएको २२ रन नै सर्वाधिक रह्यो । उनी कुशल भुर्तेलको बलमा आउट भए । त्यसअघि १५औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलकै बलमा जासोन होल्डर कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए ।
नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन् । दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए । त्यसअघि युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३५ बलमा ३ चौका र १ छक्का सहयोगमा ३८ रन बनाउँदा नविन विडाइसेको बलमा क्याच आउट हुन पुगे । २१ बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ३० रन बनाउँदा लामो सट खेल्ने धुनमा क्याच आउट नै हुन पुगे । नेपाली टोली एक समय ३.१ ओभरमा २–१२ को स्थितीमा हुँदा कुशल र रोहितले नेपालको पारी सम्हालेका थिए ।
१६ बलमा २ छक्का सहयोगमा २२ रन बनाएका गुल्सन झा पनि क्याच आउट नै भए । ओपनर कुशल भुर्तेल ६ र आशिफ शेख ३ रनमा पेभेलियन फर्के । दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट नै भए । सन्दीप जोरा ९ र करण केसी शून्य रनमा आउट भए । नेपाली टोलीले १९औँ ओभरमा लगातार तीन विकेट गुमाउन पुग्यो । टोलीले १९औँ ओभरको तेस्रो बलमा दिपेन्द्रलाई, पाचौँ बलमा सन्दीप र अन्तिम बलमा करणलाई गुमाउन पुग्यो । सोमपाल कामी ६ नन्दन यादव ७ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए । नविनले ३ विकेट झारे । उनले आफ्नो स्पेलमा २९ रन दिए । अकिल होसेनले एक विकेट आफ्नो नाममा गरे । सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।