धनगढी । पर्यटनका लागि अनुमति (परमिट) लिएका सवारीसाधनहरूले गैर–पर्यटक यात्रु ओसार्ने कार्य गरेको पाइएको छ । नेपाल–भारत सीमामा सञ्चालनमा रहेका ‘नेपाल–भारतमैत्री बस सेवा’ले मात्र सीमा तोकिएको स्थानसम्म यात्रु ल्याउने–लैजाने गर्छन् । तर, पर्यटनको नाममा अनुमति लिएका अन्य बसहरू भारतका विभिन्न जिल्ला पुग्ने, नेपालका विभिन्न ठाउँबाट यात्रु बोक्ने कार्यमा सक्रिय रहेको आन्तरिक यातायात व्यवसायीहरूको गुनासो छ ।
व्यवसायीहरूका अनुसार मैत्री बसबाहेक अन्य कुनै पनि बसले यात्रु ओसार्न नपाउने प्रावधान भए पनि पर्यटक परमिटको आडमा अवैधरूपमा यात्रु ओसारिँदा होटल, यातायात, र स्थानीय व्यवसायहरू प्रत्यक्ष प्रभावित भएका छन् । ट्राफिक प्रहरी र जिल्ला प्रशासनजस्ता निकायलाई जानकारी दिँदा पनि समस्या समाधान नभएको व्यवसायीहरू बताउँछन् । खासगरी भैरहवा (सुनौली) र काँकडभिट्टा नाकामा यस्तो गतिविधि झनै बढेको छ । यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ छ ।
दशैँमा समस्या झनै चर्को
दशैँका समयमा भारत जाने र उताबाट नेपाल फर्किने यात्रुको चाप उच्च हुने भएकाले अवैध यात्रु ओसार्ने कार्य झनै बढेको व्यवसायीहरू बताउँछन् । ‘पर्यटक’का नाममा भारतीय नागरिकलाई लैजाने र त्यही नाममा नेपाली यात्रु ल्याउँदा देशभित्रको व्यापारमा ठूलो घाटा पुगेको उनीहरूको गुनासो छ । ‘धेरैपटक हामीले विरोध गर्यौं, तर सुनुवाइ भएन’, एक यातायात व्यवसायीले भने । पर्यटन परमिट भएका गाडीहरू सिधै गन्तव्यसम्म पुग्दा भैरहवा, काकडभिट्टालगायतका सहरमा रहेका होटल, रेष्टुराँ, अटो चालक, र शक्तिपीठ मन्दिरहरूको भ्रमण गराउने व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन् । होटल व्यवसायी संघका एक पदाधिकारीका अनुसार पर्यटक नाममा यात्रु ओसार्ने प्रवृत्ति नयाँ होइन, यो वर्षौँदेखि चलिआएको समस्या हो ।
‘अवस्था यति गम्भीर छ कि वैधरूपमा सरकारले अनुमति दिएको यातायात व्यवसाय समेत धरापमा परेको छ’, रुपन्देहीस्थित एक यातायात कम्पनीका प्रतिनिधिले भने । उनले पहाडी क्षेत्रहरू बागलुङ, गुल्मी, र स्याङ्जाबाट समेत भारततर्फ अवैध यात्रु पठाइने गरेको उल्लेख गरे । व्यवसायीहरू प्रशासन र प्रहरीले मिलेमतोमा गैरकानुनीरूपमा यो कार्य चलिरहेको आरोप लगाउँछन् । उनीहरू भन्छन्, ‘यदि यस्तै अवस्थाले निरन्तरता पायो भने वैध व्यवसाय ध्वस्त हुनेछ र यसले स्थानीय रोजगारी र अर्थतन्त्रमा गम्भीर असर पार्नेछ ।’