काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्यअनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आईएमई बैैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।
यो योजनामा ग्राहकहरूले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ । ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्नसक्ने बैंकले जनाएको छ ।
मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’मा टप अप गर्न सकिनेछ । उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाइने बैंकको भनाई छ ।
यस राउण्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकताअनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै विकल्पहरू पनि आवश्यकताअनुरुप परिवर्तन गर्न सकिनेछ । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने एक रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३०मा सेट गरिएको छ भने छ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ । फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै एक सय रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा एक रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तैः १० प्रतिशत छनौट गरिएको छ भने दुई सय रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ । उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत सिधै बचत गर्न सक्नेछन् । साथै उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समयअगावै यस खाता बन्द गर्नसमेत सकिने बैंकले जनाएको छ । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैँले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ’को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत हेर्न सक्ने सुविधा समेत रहेको छ ।