काठमाडौं । नेपाली रेष्टुराँ उद्योगमा प्रविधिको प्रयोग अझै व्यापक बन्दै गएको छ । त्यसको नवीनतम उदाहरण बनेको छ, मबिल । यसमा पीओएस (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर उपलब्ध रहेको छ ।
नेपाल टेक मार्केटद्वारा विकसित र ‘थ्री जेनज ग्रुप अफ स्टार्टअप‘ को नवप्रवर्तनशील सोचबाट जन्मिएको मबिलले नेपाली आतिथ्य व्यवसायमा नयाँ युगको सुरुवात गरेको छ । प्रयोगकर्तामैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित यो सफ्टवेयर स्थापित मबिलले रेष्टुरेन्टदेखि नयाँ उद्यमीहरूसम्म सबैका लागि प्रविधिलाई अझ सजिलो र किफायती बनाउने कम्पनीको दाबी छ । नेपाल टेक मार्केटका सीईओ तथा आईसीटी विज्ञ चिरञ्जीवी अधिकारीले स्थानीय आवश्यकतालाई बुझेर यो सफ्टवेयर तयार पारेको जानकारी दिए । उनका अनुसार मबिलले बिलिङ प्रक्रिया सजिलो बनाउने मात्र नभई रेष्टुराँ सञ्चालनका सबै पक्षलाई समेट्ने आधुनिक फिचरहरू उपलब्ध गराएको छ । यसमा स्मार्ट बिलिङ प्रणाली, मोबाइल अर्डरिङ, अकाउन्टिङ र रिपोर्टिङ, स्टक व्यवस्थापन, डिजिटल मेनुलगायतका सुविधा रहेका छन् । सफ्टवेयरमा महिलाहरूका लागि विशेष छुट, स्टार्टअपहरूका लागि निःशुल्क सेवा दिइने कम्पनीले जनाएको छ ।
सामाजिक रूपान्तरणलाई प्रविधिसँग जोड्दै, मबिलको टोलीले विशेष कार्यक्रम ल्याएको छ । महिला र किशोरी उद्यमीहरूलाई ३० प्रतिशत छुट प्रदान गर्न लागेको कम्पनीकी संस्थापक अमी कट्टेलले बताइन् । त्यसैगरी, नयाँ स्टार्टअपहरूको हौसला बढाउन, यो सफ्टवेयर एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिइन् । नेपाल टेक मार्केटको नेतृत्वमा, मबिलले ‘लोकल्ली बिल्ट, ग्लोबली माइन्डेड’ दर्शनलाई आत्मसात गर्दै नेपाली बजारमै बनेको उच्चस्तरीय सफ्टवेयर समाधान प्रस्तुत गरेको छ । यसका सीटीओ मंगलकृष्ण प्रधान नेतृत्वको प्राविधिक टोलीले मबिलमा नवीनतम प्रविधिको प्रयोग गरी सहज र सुरक्षित प्रयोगकर्ता अनुभव सुनिश्चित गरेको छ ।
कम्पनीका अनुसार मबिल अब केवल एउटा सफ्टवेयर होइन, नेपालको आतिथ्य उद्योगमा डिजिटल रूपान्तरणको चालक शक्ति बनिसकेको छ । भविष्यमा अझ ठूलो सम्भावना बोकेको यो प्रयासले, रेष्टुराँ व्यवसायीहरूलाई कार्य–दक्षता, ग्राहक सन्तुष्टि र लागत–नियन्त्रणका हिसाबले नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।