काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडानमार्फत न्यारोबडी जहाजबाट ती यात्रुलाई काठमाडौं ल्याउन लागिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले अलपत्र यात्रुको लागि उद्धार उडान गर्न निर्देशन दिएकी थिइन् । योसँगै निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको हो । यसका लागि निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौंबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौंका लागि २ बजेर ४५ बजे उड्नेछ ।
काठमाडौंबाट जाँदा निगमले पाँच हजार रूपैयाँ र भैरहवाबाट उड्दा सात हजार रूपैयाँ भाडा तोकेको छ । यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ । उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यसबाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले समयमै टिकट बुक गर्न पनि भनेको छ । भैरहवामा अहिले करिब सात सय यात्रु अलपत्र रहेका छन् । प्रतिकूल मौसमकै कारण शनिबार दिनभर उडान हुन सकेको थिएन ।