काठमाडौं । १७ र १८ गतेको अविरल वर्षापछिको बाढीबाट १० करोड रुपैयाँबराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ । नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १५ सय मिटर तटबन्ध कटान भई उक्त क्षति पुगेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब दुई सय मिटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब एक सय १४ घर बारी डुबान भएको र पाँच सय हेक्टर धान खेतमा क्षति साथै झापा गापा २ को कुवाडीमा अनुमानित दुई सय मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । यसको अनुमानित क्षतिको लागत ७५ लाख छ ।
त्यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परहरुमा ५० लाख बराबरको क्षति पुगेको छ भने केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महा नपा ६ र १२ को बस्ती डुबान भई ७५ घरधुरी स्थानान्तरण भएको छ । कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याएको छ जसले २५ लाखको अनुमानित क्षति पुगेको छ ।
यसबाहेक, लालबकैया नदीको दायाँ किनार मौलापुर नपा १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई करिब एक सय हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब एक सय २० मिटर तटबन्ध बगाई दुई सय हेक्टर धान खेतमा क्षति भएको र अनुमानित दुईवटा घर गोठ डुबान भएको छ । यसको अनुमानित क्षतिको लागत ६० लाख छ । महोत्तरीको रातो नदीले बलवा न पा २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी तीन सय ९० मिटर तटबन्ध बगाएको साथै लोहरपट्टी नपा ६ लोहारपट्टीमका चार सय मिटर, महोतरी गापा ६ रतबारा मा २० मिटर, जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको छ । रातो नदीले जम्मा आठ सय ९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको छ । यसको अनुमानित क्षतिको लागत आठ करोड रुपैयाँ रहेको छ ।
सिँचाइतर्फ सिँचाइ प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लइस, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै गेट अपरेसन गरेको हुँदा सिँचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, झाँज सिँचाइ प्रणालीको ब्यारेजभन्दा दुई सय मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बन्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको छ । सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिँचाइ आयोजनाहरुको सिञ्चित क्षेत्रभित्र रहेका खोला खोल्साहरुले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन रहेको छ ।
सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशिय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबान भएको छ भने कफर ड्यामलगायत निर्माणाधीन संरचनाहरुको अवस्था यकिन हुन नसकेको मन्त्रालयले उल्लेख गरेको छ । यता पहिरोतर्फ इलाम, पाँचधर, ताप्लेजुङ्गलगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सोको विवरण प्राप्त हुन बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।