काठमाडौं । सरकारले पूर्वतयारीेको घोषणा गर्दागर्दै पनि शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी/पहिरोले तीनवटा प्रदेशमा अधिक क्षति पुगेको छ भने कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।
बाढी/पहिरोमा परेर आधा दर्जन बढी बेपत्ता छन् । सरकारी, सार्वजनिक तथा निजी पूर्वाधारमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको छ । सरकारले राजमार्गहरु नै सुचारु गर्न सकेको छैन । सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशको इलाममा भएको छ । त्यस्तै, मधेश प्रदेश डुबानमा परेको छ भने बागमती प्रदेशमा राजमार्ग तहसनहस भएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मात्र वर्षाले क्षति पुर्याएको छ । अन्य प्रदेशको अवस्था सामान्य छ । बाढी र पहिरोको वितण्डसँगै नेपालबाट मनसुन भने बाहिरिएको जन तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सरकारले सार्वजनिक बिदा दिने, बिदा फिर्ता लिने, राजमार्ग बन्द गर्ने र खोल्ने निर्णयहरु हतारमा गर्दा आम नागरिकको जनजीवन थप अस्तव्यस्त बनेको छ । सरकारले शनिबार सूचना प्रकाशित गरेर आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेर सोमबारसम्म यातायात सञ्चालनमा रोक लगाएको थियो । तर, आइतबार दिउँसोपछि सूचना निकालेर बिदा रद्द गरेर सोमबार कार्यालयमा उपस्थित हुन कर्मचारीलाई उर्दी जारी गरेको थियो । तर, कर्मचारीहरु बाहिरबाट काठमाडौं आउने र काठमाडौंबाट बाहिर जाने सम्भावना कम छ ।
चितवन, धादिङजस्ता जिल्ला प्रशासनले राति नौ बजे अगावै सवारी साधनहरु जिल्ला प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेका छन् ।
कर्मचारीहरुले सरकारले भनेकोजस्तो तयारी गरेर घरबाट निस्कनै नभ्याउने अवस्था भएको कारण सरकारले हतारहतारमा गरेको निर्णयबाट सामाजिक सञ्जालमा सरकारको प्रचार भए पनि व्यवहारमा कार्यान्वयन हुन जटिल छ ।
पानी पर्न छाडेपछि सरकारले दुई दिनको बिदा एक दिनमा सीमित गरे पनि राजमार्गहरु तहसनहस भएका कारण घुमेर गन्तव्यमा पुग्न सक्ने अवस्था छैन । यो वर्ष काठमाडौंमा मानवीय र भौतिक क्षति कम भएको छ । पानी नै कम परेको कारण क्षति कम भएको हो ।
यद्यपि, सरकारले काठमाडौंमा पूर्वतयारी राम्रैसँग गरेको थियो । बाढी आउनुअघि नै बल्खु क्षेत्रमा ढुंगासहित सुरक्षाकर्मी परिचालित थिए भने नदी किनाराका सुकुम्बासी बस्तीका बासिन्दालाई अन्यत्र सारिएको थियो ।
५० जिल्लामा बाढी र पहिरो
गत शुक्रबारदेखि शनिबारसम्मको निरन्तरको वर्षात्पछि आएको बाढी र पहिरोले ५० जिल्ला प्रभावित भएको छ । दुईदिने झरीपछि ९९ स्थानमा भएका विपद् घटनामा चार दर्जन बढीको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्यस्तै, २० जना घाइते भएका छन् भने एक सय ८७ जनाको उद्धार गरिएको छ । विपद्मा उद्धारका लागि दुई हजार पाँच सय ४७ जना प्रहरी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार १६ जिल्लामा अविरल वर्षात् भएको थियो । उक्त बाढी र पहिरोले २० वटा सडकमा अवरोध पुगेको थियो ।
१७ गतेदेखि १९ गतेसम्म प्राकृतिक विपद्का कारण चार दर्जन बढीको मृत्यु भएको हो । त्यसमा सबैभन्दा बढी पहिरोमा परी इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । आइतबार अपराह्नसम्मको विवरणअनुसार यसबाहेक पाँचथरमा दुई, खोटाङमा एक, उदयपुरमा एक र रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बेपत्ता पाँचमध्ये चारजना रसुवामा खोलामा बगेका र इलाममा एक जना पहिरोमा परेका छन् । त्यसैगरी, घाइते १६ मध्ये इलामा आठ, पाँचथरमा एक, भोजपुरमा तीन, खोटाङमा तीन र मकवानपुरमा एक जना छन् । इलामको माङसेबुङ एकबाट दुई जनाको हेलिकोप्टरले उद्धार गरेको प्राधिकरणले उल्लेख गरेको छ ।
गत वैशाखदेखि आइतबारसम्म विपद्मा परी कुल दुई सय ८५ जनाले ज्यान गुमाइसकेको प्राधिकरणले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । जसमा २७ जना बेपत्ता र एक हजार ७२ जना घाइते छन् । विगत पाँच महिनामा प्राकृतिक विपद्बाट पाँच हजार दुई सय ११ परिवार प्रभावित भएका छन् ।
मृतकका परिवारलाई तत्काल दुई लाख राहत
यसैबीच, प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको निःशुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणले निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पुर्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ ।
उनले भने, ‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ हामीले ७० लाख उपलब्ध गराएका छौँ । अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपत् कोषमा पैसा पर्याप्त रहेका कारण सोहीबाट खर्च गर्न निर्देशन दिएका छौँ ।’
यसबाहेक प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन तथा खोज उद्धार र राहत पुनः स्थापनाका कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।
क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आइतबार बसेको मनसुन प्रतिकार्य ‘कमान्ड पोस्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनः स्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्ने निर्णयसमेत भएको छ ।
विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौँ भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अर्को सूचना जारी नहुन्जेलसम्म जोखिमयुक्त राजमार्ग/सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।
अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले अवरुद्ध सडक मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्न सडक विभाग, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।