काठमाडौं । गत भदौं २३ र २४ गते देशभर एकैसाथ जेन–जी आन्दोलन उठ्यो । त्यो आन्दोलनले नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक आन्दोलनले उठाएको तर आफूसत्तामा गएपछि बिर्सने गरेको मागलाई टपक्क टिपेर उठायो । त्यो हो भ्रष्टाचारको अन्त्य र सुशासन ।
देख्दा, यो सामान्य लाग्छ तर यो यति गम्भीर माग हो कि यसले हरेक क्षेत्रलाई छोएको मात्र छैन, समेटेको र चुनौती समेत प्रदान गरेको छ । ३८ घण्टा जेन–जी आन्दोलन भयो । त्यसले दुई ठूला दल कांग्रेस र एमालेको झण्डै दुईतिहाइको सरकारलाई मात्र ढालेन, नेपालमा जोसुकैलाई नेपालमा सत्तामा पुर्याउन पनि सकिन्छ भन्ने सन्देश दोहोर्यायो ।
आन्दोलनले देखिने नेतृत्वविना नै परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश पनि दियो । आन्दोलनले युवा जागेपछि जे पनि हुन सक्छ भनेर सबैलाई राम्रैसँग सम्झाएको छ । यो आन्दोलनले यहाँ कोही कसैप्रति विश्वास नभएको सन्देश पनि दिएको छ । मानव अधिकार र सुशासनका लागि स्थापित संस्था र त्यसको स्पष्ट संकेत गरेको छ । मुलुकका कार्यपालिका, व्यवस्थापिक र न्यायपालिका कसैप्रति जनविश्वास नभएको स्पष्ट सन्देश दिएकै छ ।
राजनीतिबाट टाढा रहेका युवा पुस्ताले गरेको यो आन्दोलन विगतका अरु आन्दोलनभन्दा पृथक रह्यो । हुँदा २००७ सालको क्रान्तिमा बीपी, गणेशमान पनि यही उमेर समूहका थिए । २०२८ तिरको विद्रोहमा शेरबहादुर देउवाहरु यही उमेर समूहका थिए । २०४६ तिरको आन्दोलनमा गगन थापाहरु यही उमेर समूहमा थिए । माओवादीले २०५२ देखि चलाएको १० वर्ष हिंसात्मक आन्दोलनमा पनि कृष्ण बहादुर महरा, नन्द किशोर पुन, वर्षमान पुन, जनार्दन शर्मा यस्तै अल्लारे ठिटा थिए, अरु आन्दोलनले भ्रष्टाचार हटाउन नसकेपछि माओवादी आन्दोलनले हटाउन आस गरिएको थियो तर त्यो पनि उस्तै भयो । राजतन्त्र हट्यो तर भ्रष्टाचार हटेन ।
युवा नेताहरु वायु नेता भए । बाख्रा फार्म खोल्न अनुदान लिएर खाए, सुँगुर बंगुर फार्म खोल्न अनुदान लिएर खाए, श्रीमतीलाई ट्राभल एजेन्सीको बोर्ड मेम्बर बनाएर चार्टर्ड फ्लाइट चलाउन अनुमति दिएर खाए । बतासलाई नारायणहिटी लिजमा दिएर खाए, पाथिभरामा केवलकार चलाउने ठाउँको जग्गा किसानसँग सस्तोमा किनेर केवलकार कम्पनीलाई महँगोमा बेचेर खाए ।
कोरोना कालमा ओम्नी काण्ड गरेर, कोरोना बीमाको नाममा झुक्याएर, सबैका लागि एकीकृत बीमा भनेर खाए । यतिसम्म कि विमान बिगारेर, सरुवा बढुवामा लाज पचाएर जतात्यतै खाए, हाकाहाकी खाए, लाइसेन्समा खाए, इम्बोस्ड नम्बरमा खाए, पासपोर्टमा खाए, राष्ट्रिय परिचयपत्रमा खाए । तर त्यसलाई कुनै युवाले रोक्ने कोसिस गरेनन् । त्यसरी खाँदा एकाध बुढाहरुले पनि खाए होलान् तर अधिकांश त युवाले नै खाए ।
त्यो भ्रष्टाचारका विरुद्ध उठेको थियो जेन–जी आन्दोलन तर दिन बित्दै जाँदा जेन–जी आन्दोलनलाई भजाएर खाने धेरै देखिएका छन् । अवसर छोप्नेहरुको जतात्यतै लर्को लागेको देखिन्छ । तर आन्दोलन उठाउने जेन–जीहरु विस्तारै पछि पर्दै गएका छन् । जेन–जीका नाममा प्रशस्त खाइपिई गरेका, प्रशस्त हुसुरेका जेपायो त्यही लतारेका, खानुसम्म खाएका, डकारेका हुजुरबा, हजुरआमा र काका पुस्ताले सत्ता हातमा लिएर जेन–जीका नाममा फेरि लतार्न थालेका छन् । ठेक्कपट्टा, सरुवाबढुवा, बर्खास्ती र नियुक्तिका धन्दा चलाइरहेको छ ।
जेन–जीको नाममा अगामी फागुुन २१ गते चुनाव गराउने एक मात्र कार्यदेश पाएको सरकार । सरकार र त्यस्का आसेपासेहरु जेन–जीको एक मात्र माग भ्रष्टाचार मुक्त नेपाल बनाउने अभियानलाई लज्जित बनाउने गरी भ्रष्टाचारमै लिप्त हुन लागेको मात्र होइन । जेन–जी आन्दोलनको मागलाई आफू अनुकूल परिमार्जन र थपघट गर्न थालेको छ । भ्रष्टाचारमुक्त नेपालको नारा लिएर जेन–जी पुस्ता चुनावमा जान्छ, सरकारको काम चुनाव गराउने हो ।
चुनावपछि कस्तो सरकार बन्छ, भ्रष्टाचारमुक्त नेपाल अभियान कसरी चल्छ त्यो चुनावपछिको गठन हुने सरकारले गर्ने हो, तर सुशीला कार्कीको नेतृत्वमा गठित असंवैधानिक चुनावी सरकारले अहिले नै भ्रष्टाचार छानबिनको कुरा उठाएर विषयान्तर गर्न खोजेको आशंका गर्न थालिएको छ ।
चुनावमा जनताले बाख्रा चोर, काँक्रा चोर, घडी चोर को–कस्ता हुन्, छानीछानी मतदान गर्लान्, भ्रष्टाचारीहरुलाई नाङ्गेझार बनाएर हराउलान्, एउटा कारबाही त्यही होला, त्यसपछि निर्वाचित सरकारले २०४६ सालपछिको सरकार नेता, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरेर कारबाही गर्ला तर अहिले नै कार्की सरकारले सबै काम गर्न खोज्यो भने चुनाव नै हुँदैन र मुलुक अकै दिशातर्फ धकेलिने छ । जेन–जीको मागलाई बढाइचढाई गर्नुको अर्थ चुनाव हुन नदिन खोज्नु हो ।