काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले जेन–जी आन्दोलनका पीडित बीमितलाई झण्डै २२ करोड रुपैयाँ भुक्तानी दिएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशीघ्र दाबी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको र हालसम्म हिमालयन एभरेस्टमार्फत बीमा भई क्षतिपूर्ति दाबी गरिएका दुई सय ८७ वटा दाबीमध्ये हालसम्म दुई सय ४५ वटा दाबी बापत २१ करोड ७४ लाख ४५ हजार आठ सय ३१ रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त दाबी भुक्तानी रकम जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत रहेको कम्पनीको भनाइ छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइँटेलले जानकारी दिए । साथै, उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी २१ गते मंगलबारबाट पुनः यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ । यसका साथै हिमालयन एभरेस्टमार्फत बीमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पु¥याई आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।