काठमाडौं । जेन–जी आन्दोलन दबाउने मुख्य योजनाकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुदन गुरुङले प्रहरीमा उजुरी लगेपछि नेकपा एमाले निकटको अनेरास्ववियुले पनि सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी, सार्वजनिक र निजी आवास जलाउने नेतृत्व गरेका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र सुदन गुरुङलगायतलाई पक्राउ गर्न माग गर्दै मंगलबार प्रहरीमा उजुरी दिएको छ ।
काठमाडौं प्रहरी परिसरले गुरुङ उजुरी गौरबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा पठाएको छ भने एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको उजुरी दर्ता गर्ने कि नगर्ने विषयमा बुधबार साँझसम्म जानकारी दिने जवाफ दिएको छ । एमाले अखिलले आन्दोलनको क्रममा मैले यो यो ठाउँमा जलाए भनेर बोल्ने जेन–जी आन्दोलनका सहभागीहरुको भिडियोसहितको उजुरी सबै जिल्लामा दर्ता गर्ने तयारी गरेको छ ।
बालेनले केही महिना अगाडि फेसबुकमा सिंहदरबार जलाइदिन्छु भनेर लेखेको स्टाटससहित उनका पछिल्ला गतिविधि समेटेर उजुरी दर्ता गरेको हो । बालेनले स्टाटसमा लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
एकातिर जेन–जीको नाममा विवादास्पद पात्र सुदन गुरुङले ओली र लेखकलाई पक्राउ अभियान चलाएका छन् भने अर्कोतिर एमाले अखिल पनि आन्दोलनका क्रममा सरकारी, सार्वजनिक र निजी आवास जलाउने र जलाउन उक्साउनेहरुलाई पक्राउ गर्नुपर्ने माग लिएर सडकमा आएपछि भीडन्तको संकेत देखिएको छ । यतिसम्म कि गत भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध पनि उजुरी पर्न सक्छ । किनकि, कार्कीले उक्त आन्दोलनको पक्षमा लेखेका दर्जनौँ स्टाटसहरु एक पक्षीय र आन्दोलनलाई उक्साउने खालका छन् ।
यसैबीच, आफूलाई जेन–जी अगुवा बताउने कृष्णमोहन सहनीले नक्कली जेन–जीको नाममा आगजनी, लुटपाट र अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा नल्याएसम्म स्थिरता बन्न नसक्ने बताएका छन् । उनले जेन–जीको नाममा अराजक कार्य गरिरहेको भन्दै सुधन गुरुङ र डा. निकोलस भुसाललाई कानुनको दायरमा ल्याउनुपर्ने बताए ।
मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै सहनीले भने, ‘जेन–जीको नाममा अराजकता मच्चाइरहेका सुधन गुरुङ र निकोलस भुसाललाई कानुनको दायरामा ल्याउनुपर्छ, नत्र स्थिरता आउँदैन । त्यस्तै, जेन–जीको नाममा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्नुपर्छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले जेन वाईको दबाबमा जेन–जीको पक्षमा काम नगरेको बताए । उनले जेन–जीको पक्षमा काम गर्न नसक्ने भए प्रधानमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँदै नभए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
आफूहरुले पुरानै चुनाव गराउन गराउन नचाहेको बताउँदै सहनीले चुनाव रोक्न सरकारसँग आग्रह गरे । उनले भने, ‘अहिलेकै अवस्थामा गरिने चुनावमा हाम्रो सहमति छैन, हामी बहिस्कार गर्छौँ । अहिलेको सरकारले जबरजस्त चुनाव गरायो भने पुनः आन्दोलनमा आउनुपर्ने हुन्छ ।’
संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्ने जेन–जीको माग रहेको बताउँदै सहनीले सामानुपातिकलाई खारेज गर्नुपर्ने तर खराबी हटाएर संघीयतालाई बलियो बनाउनुपर्ने बताए । जेन–जी बलमा बनेको सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक नगरेको बताउँदै आपत्ति जनाए । उनले सरकार समावेशिता नभएको बताउँदै भने, ‘हाम्रो बलमा बनेको सरकारलाई प्रधानमन्त्री कार्कीले समावेशिता छैन । महिला, दलित, मधेशी सहभागिता छैन । यही हो हामीले खोजेको सरकार ?
जेन–जी पुस्ता अरुको पछि नलागेर आन्दोलनको म्याडेन्टअनुसार अगाडि बढ्नुपर्ने बताए । आफूहरु तिहार र छठपछि पुनः आन्दोलनमा आउने चेतावनी समेत दिए । आन्दोलनमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्न छोडेर सरकारले कनिका छरेको बताए । उनले १० लाख दिएर परिवारलाई केही नपुग्ने बताउँदै तुरुन्त राष्ट्रिय सहिद घोषणा गर्न र घाइतेलाई रोजगारीको व्यवस्था गर्न माग गरे ।