बटुकनाथ झा
जनकपुरधाम, भदौ १०
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतसहित धनुषामा बैंक तथा वितीय संस्थाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिएका छन् ।
प्रयोगशालाबाट आएको रिपोर्टअनुसार राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र जानकी फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणिज्य बैंकमा २२ र ३० वर्षीय महिला र ५४ वर्षीय पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एभरेष्ट बैंकमा २९ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बैंकमा ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपाल बंगलादेश बैंकमा ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका सुरक्षा गार्ड र एकजना प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको पीसीआर परीक्षणको मंगलबार आएको नतिजामा दुवै जनामा संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले सुरक्षा गार्ड नेपाल प्रहरीका हवल्दारलाई संक्रमण पुष्टि भएको जनाए । यसैगरी धनुषाको इलाका प्रशासन कार्यालय क्षिरेश्वरनाथका साथै जिल्ला प्रहरी कार्यालय धनुषामा समेत खटिइँदै आएका एक जना प्रशासकीय अधिकृतमा संक्रमण पुष्टि भएको उनले बताएका छन् ।
भट्टराईका अनुसार संक्रमण पुष्टि भएका प्रशासकीय अधिकृत तीन दिन जिल्ला प्रशासन र तीनदिन इलाका प्रशासन कार्यालयमा काम गर्ने गरेका थिए । संक्रमण पुष्टि भएका प्रशासकीय अधिकृत होम आइसोलेसन र सुरक्षा गार्डलाई आइसोलेसनमा पठाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन् । कोरोनाकै कारण महोत्तरीमा दुई जनाको मृत्यु समेत भएको छ ।
जिल्लाको मनरा सिसवा नगरपालिकाका ७४ र बलवा नगरपालिकाका ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । क्यान्सरका बिरामी रहेका मनरा सिसवाका ७४ वर्षीय पुरुषलाई विगत ३ गते चितवनको भरतपुरमा संक्रमण पुष्टि भएको थियो । यसैगरी मेरुदण्डसम्बन्धी समस्या रहेका ७७ वर्षीय पुरुषको ६ गते संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य संयोजक गिरेन्द्रकुमार झाले जानकारी दिए ।
झाका अनुसार बलवाका ७७ वर्षीय पुरुषको प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । यसैगरी मनरा सिसवाका ७४ वर्षीय पुरुषलाई उपचारको लागि जलेश्वर आइसोलेसनमा ल्याउँदा गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।