काठमाडौं । दक्षिण एसियामा बालबालिकामाथि व्यापक यौनशोषण हुने गरेको नयाँ प्राज्ञिक अनुसन्धानले देखाएको छ । उक्त अध्ययनका अनुसार दक्षिण एसियाका लाखौँ बालबालिका यौन शोषणको जोखिममा छन् ।
चाइल्डलाइट ग्लोबल चाइल्ड सेफ्टी इन्स्टिच्युटले गरेको अध्ययनअनुसार दक्षिण एसियाका करिब आठमध्ये एक जना बालबालिकाले १८ वर्ष पुग्नुअघि बलात्कार वा यौन दुर्व्यवहारमा पर्ने गरेका छन् । भारत, नेपाल र श्रीलंकामा उक्त अध्ययन गरिएको हो । सर्वेक्षणका तथ्यांकअनुसार १२ दशमलव पाँच प्रतिशत बालबालिकाले १८ वर्ष नपुग्दै बलात्कार वा यौन दुर्व्यवहारको सामना गरेको बताएका छन् । तीमध्ये १४ दशमलव पाँच प्रतिशत बालिकाहरू र ११ दशमलव पाँच प्रतिशत बालकहरू रहेको उल्लेख छ । यो तथ्याड्ढअनुसार यी तीन देशहरूमा मात्र करिब पाँच करोड ४० लाख बालबालिका प्रभावित भएको अनुमान गरिएको छ ।
चाइल्डलाइट, संयुक्त अधिराज्यस्थित युनिभर्सिटी अफ एडिनबरा र अस्ट्रेलियास्थित युनिभर्सिटी अफ न्यूसाउथ वेल्समा आधारित तथ्याड्ढ अनुसन्धान संस्थान हो । यस संस्थाले विश्वभर बाल यौन शोषण र दुर्व्यवहारको परिमाण र स्वरूपमा प्रकाश पार्दै बालसुरक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै आएको छ । संस्थाको नयाँ ‘इन्टु द लाइट’ शीर्षकको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले प्रविधिको माध्यमबाट अनलाइन हुने बाल यौन शोषण र दुर्व्यवहारको नयाँ परिमाण र स्वरूपबारे ताजा तथ्याड्ढ प्रस्तुत गरेको छ । यसमा कृत्रिम बुद्धिमत्ताबाट बनाइएका यौनजन्य चित्र वा ‘डिपफेक’लगायतका हानिकारक सामग्रीमा गत वर्ष मात्रै एक हजार तीन सय २५ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
दक्षिण एसियाभित्र, भारत, बंगलादेश र पाकिस्तानमा होस्ट गरी कम्प्युटरमा भण्डारण गरिने वा साझा गरिने बाल यौन दुर्व्यवहार सामग्रीको सबैभन्दा ठूलो संख्यामा पाइन्छ । चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले बालबालिका अनलाइन दुर्व्यवहार र शोषणको बढ्दो जोखिममा रहेकाले उनीहरुलाई अनलाइनमा समेत सुरक्षित राख्न सरकारहरू र प्रविधि कम्पनीहरूले ठोस तथा प्रभावकारी सुरक्षात्मक पहल र पर्याप्त लगानी गर्न ढिलो भइसकेको बताए ।