काठमाडौं । निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानीसम्बन्धी छलफल भएको छ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्यलगायतका विषयमा नेपाल बीमा प्राधिकरणले मंगलबार निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको हो ।
छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शनबमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिए । उनले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानुनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए । कार्यकारी निर्देशक सुवेदीले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुप¥यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आमरूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एड्भान्स रकम दिनुपर्यो ।’ बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानीसम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्छौँ, भु्क्तानी दिन्छौं र यसमा कुनै समस्या छैन भने । साथै, उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रियरूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमाले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको जानकारी दिए ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमाबापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको जानकारी दिँदै पुनर्बीमाबापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुब तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।