अमेरिका । खतरनाक जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्व प्रयासको मुख्य आधार मानिने नवीकरणीय ऊर्जाको वृद्धि संयुक्त राज्य अमेरिका र चीनमा नीतिगत परिवर्तनका कारण सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले मंगलबार जनाएको छ ।
एएफपीका अनुसार विश्व समुदायले सन् २०३० सम्म नवीकरणीय ऊर्जा उत्पादन तीन गुणा बढाउने लक्ष्य राखेको दुई वर्षमै आईईएले उक्त लक्ष्य हासिल नहुने ठहर गरेको हो । गत वर्षसम्म पेरिसस्थित यस एजेन्सीले विश्वव्यापीरूपमा थप पाँच हजार पाँच सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन हुने पूर्वानुमान गर्दै लक्ष्य नजिक पुग्ने आकलन गरेको थियो । तर नयाँ मूल्याङ्कनअनुसार ‘सन् २०२४ अक्टोबरपछि नीति, नियामक र बजार संरचनामा भएका परिवर्तनहरू’ का कारण अब वृद्धि चार हजार छ सय गिगावाटमा सीमित हुनेछ । यो सन् २०२२ को स्तरको दुई दशमलव छ गुणा मात्र हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नवीकरणीय ऊर्जा परियोजनाहरूमा कडा नियामक नियन्त्रण र कर छुटका प्रारम्भिक चरणमा परिवर्तन गरेपछि आईईएले अमेरिकाको नवीकरणीय ऊर्जा वृद्धिको पूर्वानुमान करिब ५० प्रतिशतले घटाएको छ । चीनको पक्षमा पनि स्थायी शुल्क प्रणालीबाट लिलामी प्रक्रियामा परिवर्तनले परियोजनाहरूको नाफा घटाएको र त्यसले वृद्धिमा असर पारेको बताइएको छ । तर आईईएका अनुसार चिनियाँ सरकार अझै पनि विश्व नवीकरणीय ऊर्जाको वृद्धि गर्ने प्रमुख शक्ति बनेको छ र देशले सन् २०३५ को हावा र सौर्य ऊर्जा लक्ष्य निर्धारित समयभन्दा पाँच वर्ष अगावै हासिल गर्ने सम्भावना देखाएको छ ।
ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव
अमेरिका र चीनमा वृद्धि सुस्त भए पनि अन्य क्षेत्रमा स्थिति अपेक्षाकृत आशाजनक रहेको आईईएले जनाएको छ । भारत ‘सन् २०३० को लक्ष्य पूरा गर्ने बाटोमा रहेको’ र नवीकरणीय ऊर्जाका लागि दोस्रो ठूलो बजार बन्ने अनुमान गरिएको छ । त्यसको क्षमता आगामी पाँच वर्षमा दुई दशमलव पाँच गुणा बढ्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरूमा पूर्वानुमान २५ प्रतिशतले र युरोपका जर्मनी, इटाली, पोल्यान्ड र स्पेनका लागि पनि वृद्धि पूर्वानुमान उच्च रूपमा संशोधित गरिएको छ ।
आईईएका अनुसार विगत पाँच वर्षमा सौर्य प्यानलहरूले विश्वव्यापी नवीकरणीय ऊर्जा वृद्धिको करिब ८० प्रतिशत हिस्सा ओगटेका छन् । हावा, जल, बायोमास र जियोथर्मल ऊर्जाले त्यसपछि स्थान लिएका छन् । तर अपतटीय पवन ऊर्जामा केही देशहरूको नीति परिवर्तनका कारण वृद्धि अपेक्षाभन्दा कम देखिएको छ । विशेषगरी संयुक्त राज्य अमेरिकामा केही निर्माणाधीन परियोजनाहरू रोक्ने प्रयास भइरहेको बताइएको छ ।
आईईएले नवीकरणीय ऊर्जाले देशहरूको वित्तीय र ऊर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै भनेको छ, ‘नवीकरणीय ऊर्जाको प्रयोगले धेरै देशमा इन्धन आयातको आवश्यकता घटाएको छ, जसले ऊर्जा विविधीकरण र सुरक्षालाई बलियो बनाएको छ ।’
सन् २०३० सम्म ऊर्जाको उत्पादन हालको तुलनामा दोब्बर भई कुल उत्पादनको करिब ३० प्रतिशत पुग्ने अनुमान गरिएको भन्दै एजेन्सीले देशहरूले नवीकरणीय ऊर्जाको अनियमित प्रकृतिलाई व्यवस्थापन गर्न बिजुली सञ्जालको लचिलोपन बढाउनुपर्ने थप सिफारिस गरेको छ ।