भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेताहरूमाथि दमन र बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आफ्नो सम्पत्तिसमेत छानबिन गर्न चुनौती दिएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले हालको सरकारले लोकतन्त्र र कानुनी शासनको मर्यादा उल्लङ्घन गरेको दाबी गरे। ओलीले भने,“यो सरकारको क्रियाकलाप न लोकतान्त्रिक छ, न संविधानअनुसार। राज्य आतङ्क सिर्जना गर्न खोजिएको छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हाल्ने, मुद्दा लगाउने र अपमान गर्ने प्रयास भइरहेको छ।” उनका अनुसार सरकारले आगामी चुनावलाई निष्पक्ष बनाउनुभन्दा पनि विपक्षी नेताहरूलाई रोक्ने षड्यन्त्र गरिरहेको छ। उनले थपे,“अरूलाई चुनाव लड्न नदिई बुथ कब्जा गरेर आफू मात्र जित्ने सपना देख्नेहरूले त्यो सपना नदेख्नू। जनताले त्यस्ता दिवा सपना देख्नेहरूलाई चिसो पानी खन्याउनेछन्।” ओलीले गृहमन्त्रीमाथि व्यक्तिको नाम तोकी आफ्ना समर्थकहरूलाई उजुरी हाल्न लगाएको आरोप समेत लगाए। उनले भने, “राजनीतिक दललाई बाइपास गरेर चुनाव सम्भव छैन। राजनीतिक संवादबिनाको दमनकारी अभ्यासले देशलाई अस्थिर बनाउँछ।”