काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।
समसायिक राजनीतिक घटना र आफ्नो बारेमा उठेका प्रश्नको जवाफ दिन भन्दै बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले अहिलेको सरकारका सबैभन्दा भ्रष्टमन्त्री ऊर्जामन्त्री कुलमान घिसिङ रहेको भन्दै उनीबाट सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् । कुलमानविरुद्ध अख्तियार र संसदीय समितिहरुमा उजुरीहरुको चाङ रहेको दाबी गरे । स्रोतका अनुसार कुलमानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्रै करिब १६ वटा उजुरी छन् । उनको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरी छ ।
कुलमानले आफन्तको नाममा समेत विभिन्न कम्पनी खोलेर सरकारी काम सेटिङमा दिएर अर्बौँ रुपैयाँ अवैधरुपमा आर्जन गरेको आरोप छ । एमाले नेता बस्नेतका अनुसार कुलमानको आफन्तले लिएको सूर्यविनायक–धुलिखेल सडकको ठेक्काको म्याद थप गर्न लागेका छन् । उक्त ठेक्काको काम सुस्त गतिमा भएको कारण म्याद सकिन लागेको छ । म्याद थप गरेर त्यसको भेरिएसन गरेर रकम पनि थल गर्न लागिएको छ । कुलमान अहिले ऊर्जाको साथै भौतिक र सहरी विकासमन्त्री पनि हुन् ।
त्यस्तै, नेता बस्नेतले अर्थमन्त्री खनालको सम्पत्तिको बारेमा पनि प्रश्न उठाउँदै एउटा मामुली कर्मचारीको कसरी त्यति धेरै सम्पत्ति हुन्छ भनेर प्रश्न उठाएका छन् । खनालको सम्पत्तिको बारेमा खासै धेरै नबोलेका नेता बस्नेतले कुलमानको साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको सम्पत्तिको स्रोतमाथि भने पटकपटक प्रश्न गरेका थिए ।
बालेनलाई सिंहदरबारलगायतका सरकारी, सार्वजनिक र निजी सम्पत्ति जलाएको अपराधीको संज्ञा दिँदै नेता बस्नेतले काठमाडौंका मेयर बालेनको सम्पत्ति किन यति धेरै र त्यसको स्रोत के हो भनेर पटकपटक प्रश्न उठाए । बस्नेतका अनुसार बालेनका बुबा राम नारायण साह सामान्य सरकारी कर्मचारी हुन् । तर, बालेनको काठमाडौंमा अकुत सम्पत्ति छ ।
नेता बस्नेतले आफू, एमाले अध्यक्ष केपी शर्मा ओली र ओली सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर देखाउन चेतावनी दिए । भदौ २३ र २४ गतेको घटनाका मुख्य दोषी ओली र लेखक भन्दै सुधन गुरुङ समूहले उनीहरुलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएपछि नेता बस्नेतले समातेर देखाउन चेतावनी दिएका हुन् । एमाले र त्यसका अध्यक्ष ओलीको पक्षमा पत्रकार सम्मेलन गरेर दह्रो प्रतिवाद गर्ने बस्नेत पहिलो नेता हुन् । काँग्रेसका नेता समेत रहेका लेखकको बारेमा काँग्रेस नै मौन बसेको बेला बस्नेतले पूर्वगृहमन्त्री लेखकलाई समेत पक्राउ नगर्न चेतावनी दिए ।
एमाले नेता बस्नेतले भदौ २३ गतेको घटनाको निष्पक्ष छानबिन गर्न सरकारद्वारा गठिन गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई सुझाव दिँदै निष्पक्ष नभए त्यसको परीणाम नराम्रो हुने चेतावनी दिँदै भदौ २४ गतेको घटनाका सबै दोषीविरुद्ध देशव्यापी उजुरी दिइने जानकारी पनि पत्रकार सम्मेलनमा दिएका छन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, सडक विभागलगायत विभिन्न नेताका घर र पार्टी कार्यालय जलाउने कार्यमा बालेन्द्र साह र सुधन गुरुङलगायतका समूहको प्रत्यक्ष संलग्नता रहेको बस्नेतको जिकिर छ । एमालेको भातृ संस्था अनेरास्ववियुले बालेन र सुधनविरुद्ध मंगलबार नै काठमाडौं प्रहरीमा उजुरी दिएका छन् । केरमेट भएको भन्दै प्रहरीले पुनः उजुरी मागेपछि बुधबार अखिलले अर्को उजुरी मगाएको थियो । अखिलले बुधबार केरमेट नगरिएको उजुरी बुधबार काठमाडौं प्रहरीमा बुझाएको छ । उक्त उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाउने तयारी गरेको छ ।