चितवन । चितवन मेडिकल कलेज (सीएमसी)को भगिनी संस्था ‘सीएमसी क्यान्सर इन्स्टिच्युट’ले निःशुल्करुपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ ।
विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा इन्स्टिच्युटले निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । हरेक वर्ष ‘अक्टोबर’ महिनामा विभिन्न कार्यक्रमसहित विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइने गरिएको छ । सीएमसीसम्बद्ध इन्स्टिच्युटले बुधबार पत्रकार सम्मेलन गरी स्तन (ब्रेस्ट) क्यान्सरसम्बन्धी जनचेतना जगाउने, समयमै रोगको पहिचान र उपचार गर्ने, स्तन क्यान्सरबाट हुने धनजनको क्षति न्यूनीकरण तथा नियन्त्रण गर्न सघाउन पु¥याउने उद्देश्यले निःशुल्करुपमा स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दिएको हो ।
सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ‘अक्टोबर’ महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरङ्ग सेवाअन्तर्गतको टिकट निःशुल्क गरिएको जानकारी दिए । ‘तालिमप्राप्त स्वास्थ्यकर्मीबाट स्तनमा गाँठागुँठी छ, छैन भन्ने पहिचान गरी स्वास्थ्य परीक्षण गरिन्छ । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षणको समेत व्यवस्था मिलाइएको छ’, उनले भने । विशेष उपकरणमार्फत स्तनको क्यान्सर भए, नभएको पत्ता लगाउने परीक्षण विधि ‘मेमोग्राम’ र भिडियो एक्सरेतर्फ ५० प्रतिशत छुट दिने पनि उनले जनाकारी दिए । अस्पतालका मेडिकल ओलोजिस्ट डा सुदीप थापाले स्तनमा गाँठागुँठी छन् भने एकपटक राम्रोसँग परीक्षण गर्न सुझाव दिए । विशेषगरी ३० वर्षमाथिका महिलाले हरेक वर्ष कम्तीमा एकपटक स्तनको परीक्षण गर्नुपर्ने उनको सुझाव थियो ।
‘क्यान्सर रोगको हकमा जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुन्छ । यसको निको हुने दर पनि उच्च रहेको छ, नियमित परीक्षण गर्न र समस्या देखिए समयमै उपचार गरी सुरक्षित रहन सबैसँग अनुरोध छ’ डा थापाले भने, ‘स्तन क्यान्सरको नियमित जाँचसहित पहिचन र उपचारका पक्षमा सक्दो सहयोग गर्न सीएमसी अस्पताल तयार छ ।’ सीएमसी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुवास ठाकुरले शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी गरी तीन विधिबाट क्यान्सर रोगको उपचार गर्न सकिने बताए । स्तन क्यान्सर पहिचान भइसकेपछि तीन वटै विधाका चिकित्सकहरुको छलफलका आधारमा कुनै एक विधि अपनाएर उपचार प्रक्रिया सुर हुने उनले जानकारी दिए । यस वर्ष ‘हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ’ भन्ने नाराका साथ विश्व स्तन क्यान्सर सचेतना महिनाका रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।