काठमाडौ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको चार सय ६१औं बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई पाँच प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १० दशमलव ५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ९० रुपैयाँमा पाँच प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा पाँच दशमलव ५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार नौ सय पाँच रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २८ करोड अर्थात् नौ. दशमलव ३० प्रतिशतले बढी हो । यसैगरी बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ८३ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको देखिन्छ, जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट एक अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो । यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपश्चात् सेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ, उक्त विनियोजित रकम एक अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा तीन अर्ब २९ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा २३ दशमलव ४१ प्रतिशतको प्रतिफल हो । यसैगरी, प्रतिकूल बजार अवस्थाका बाबजुद बैंकले निष्क्रिय कर्जाको अनुपातलाई दुई दशमलव ६२ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ ।
२०८२ असार मसान्तमा बैंकको चुक्तापुँजी १४ अर्ब आठ करोड रहेको छ भने जगेडा कोष १६ अर्ब ८७ करोड रहेको छ । बैंकको नेटवर्थ ३० अर्ब ९६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा दुई अर्ब ८९ करोडले बढी हो । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रतिसेयर दुई सय १९ रुपैयाँ ७७ पैसा रहेको छ, जुन गत आवमा एक सय ९९ रुपैयाँ २१ थियो । यो गत आवको तुलनामा १० दशमलव ३२ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ८९ पैसा रहेको छ, जुन गत आवमा २१ रुपैयाँ ८६ पैसा रहेको थियो । यो गत आवको तुलनामा नौ दशमलव ३० प्रतिशतले बढी हो ।