काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेडले एक नयाँ योजना सञ्चालन गरिरहेको छ । बैंकले लक्ष्य निर्धारण गरी लक्ष्यअनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।
यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम छ महिना देखि अधिकतम दुई वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ । ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।
मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैँले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै, ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टपअप गर्न सक्नेछन् । उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि रहेको छ । राउन्डअप सेभिङअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्युआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।
यस राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन् । यस राउन्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै, विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन् । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणका लागि दुई सय २४ रुपैयाँ मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने एक रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने छ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ । फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै, एक सय रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा एक सय रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्युआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै, १० प्रतिशत छनौट गरिएको छ भने दुई सय रुपैयाँको क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ । उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् । साथै, उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्न समेत सक्नेछन् । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफँैले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत हेर्न सक्ने सुविधा समेत रहेको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेस्ट बैंकको रूपमा सम्मानित बैंक हो ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।