काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले १५१औँ विश्व हुलाक दिवसका अवसरमा बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए । “हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भने, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।”
उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे । “स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ”, मन्त्री खरेलले भने ।
‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइँदैछ । मन्त्री खरेलले नेपाली क्रिकेट टोली (महिला र क्वालिफाइड यु–२००, महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा. हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाएका थिए ।