हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलोपटक चार हजार डलर पार गरेको छ ।
प्रविधि कम्पनीहरूको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजारहरू अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको एएफपीले जनाएको छ । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भू–राजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् । परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार चार हजार ३७ दशमलव १० डलरसम्म पुगेको छ । यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।
अमेरिकी सरकारका केही विभागहरू बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्कहरू स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।
नेसनल अस्ट्रेलिया बैंकका अर्थविश्लेषक टेलर न्युजेन्टले भने, ‘सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डहरूको बढ्दो आगमन, चीनबाटको बलियो माग र विश्वका केन्द्रीय बैंकहरूको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।’
त्यस्तै, पेपरस्टोनका क्रिस वेस्टनले लेखेका छन्, ‘विश्वका कोष र रिजर्भ प्रबन्धकहरूले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् — र सुन त्यसको केन्द्रमा छ ।’
यसबीच, एसियाली बजारहरूमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्नहरू उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्यो।
एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, ‘पूर्णताका लागि मूल्याङ्कन भएको बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि ‘अन्तिम कल’जस्तै लाग्छ । व्यापारीहरूले स्पष्टीकरणको प्रतिक्षा गरेनन्, उनीहरूले आफ्नो स्थिति घटाउन थाले । ओरेकलको परिणामले पार्टी समाप्त गरेन तर निश्चितरूपमा मौन बनायो ।’
एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढ्यो । हङकङमा अलिबाबा र जेडीडटकम, ताइपेईमा टीएसएमसी र टोकियोमा रेनेसास तीव्ररूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।
टोकियोमा सत्तारूढ पार्टीको नेतामा व्यापार–मैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो गएको बजार बुधबार केही कमजोर भयो । लगानीकर्ताहरू थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षा गरिरहेका छन् ।
यसैबीच, लन्डन, पेरिस र फ्रेङ्कफर्टमा बजार स्थिर देखिए भने वेलिङ्टन, मनिला, बैङ्कक र जकार्तामा सन्तुलित कारोबार भइरहेको थियो ।