काठमाडौं, राजधानीमा बढ्दो प्रदर्शन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सिंहदरबारस्थित गृहमन्त्रालयमा आज उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका हुन्। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। छलफल मुख्यतः माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रदर्शन र त्यसका कारण बढ्न सक्ने सुरक्षा चुनौतीमा केन्द्रित भएको स्रोतले जनाएको छ। जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएपछि एमाले निकट अनेरास्ववियुले पनि काठमाडौं महानगरका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरेको थियो। यी काउन्टर जाहेरीहरूले उत्पन्न गर्नसक्ने सम्भावित सुरक्षा जोखिमबारे बैठकमा गम्भीर छलफल भएको गृह स्रोतले जानकारी दिएको छ। माइतीघर क्षेत्रमा एक पक्षले टाँसेका ब्यानर हटाएर अर्को पक्षले नयाँ ब्यानर राख्ने प्रयासपछि तनाव बढेको, केही नेताहरूका सार्वजनिक अभिव्यक्तिहरूले पनि वातावरण थप संवेदनशील बनाएको बताइएको छ। गृहमन्त्री अर्यालले सबै सुरक्षा निकायका प्रमुखहरूबाट ब्रिफिङ लिँदै पछिल्लो अवस्था र सम्भावित जोखिमबारे जानकारी मागेका थिए। बैठकमा आगामी दिनमा हुनसक्ने जेन–जी आन्दोलन, दुर्गा प्रसाईं समूहको प्रदर्शन, चाडपर्वपछि देखिन सक्ने सुरक्षा चुनौती र आगामी निर्वाचन तयारीका विषयमा समेत छलफल गरिएको बताइएको छ। विपद् व्यवस्थापन र उद्धार सम्बन्धी तयारीबारे पनि मन्त्रालयले जानकारी लिएको छ। गृह मन्त्रालयका अनुसार अहिले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। राजधानीमा कुनै पनि अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ।