काठमाडौं, नेपाल राष्ट्र बैंकले राजधानीका दुई मनि चेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीए ओम मनी एक्सचेन्जको इजाजतपत्र खारेज गरेको हो। राष्ट्र बैंकका अनुसार दुवै कम्पनीले तोकिएको समयमा आफ्नो इजाजतपत्र नवीकरण नगरेकाले कारबाहीस्वरूप अनुमति खारेज गरिएको हो। राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३०) बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनि चेन्जरहरूको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था अनुसार दुवै कम्पनीको इजाजतपत्र रद्द गरिएको हो।” राष्ट्र बैंकले मनि चेन्जर कम्पनीहरूलाई तोकिएको समयमा अनिवार्य रूपमा नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गर्दै त्यसको अवहेलना गर्ने संस्थाहरूमाथि कानुनी कारबाही निरन्तर गरिने चेतावनी पनि दिएको छ।