काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको नियमित महाधिवेशन मंसिर महिनामै गर्ने प्रस्ताव गरेका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन्।
हालसम्म जेन–जी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जाने आवश्यकता रहेको भन्दै आएका थिए। तर, पछिल्लो बैठकमा गगन थापाले अब पार्टीलाई नियमित प्रक्रियामार्फत अघि बढाउँदै नियमित महाधिवेशन गर्ने तयारी सुरु गर्नुपर्ने धारणा राखेका हुन्।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा. शशांक कोइरालाले महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावबारे जानकारी दिएका थिए। यसैबीच, कांग्रेस नेता कृष्ण सिटौलाले भने महामन्त्रीद्वयको हस्ताक्षर अभियानका कारण पार्टीभित्र फुटको जोखिम बढ्न सक्ने बताएका छन्।
उनले आज बिहान आफ्नै निवासमा केही नेताहरूसँगको छलफलमा पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए। पार्टीभित्र जारी नेतृत्वको विवाद र आगामी महाधिवेशनको तयारीबीच थापाको यो प्रस्तावलाई कांग्रेसभित्रको आन्तरिक द्वन्द्व समाधानतर्फको संकेतका रूपमा हेरिएको छ।