काठमाडौँ । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार हालैको बाढीपहिरोबाट इलाममा भएको ठूलो मानवीय र भौतिक क्षतिको कारण यस्तो निर्णय लिनु परेको हो। गत असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ३९ जनाको मृत्यु, दर्जनौँ घाइते र सयौँ परिवार विस्थापित भएका थिए। बस्ती, सडक, विद्यालय, खानेपानी र विद्युत् पूर्वाधारमा समेत व्यापक क्षति पुगेको थियो। सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणासँगै तत्कालीन राहत, उद्धार र पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाउने जनाएको छ। गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई प्रभावित क्षेत्रका पीडितलाई आवश्यक सहयोग पु-याउन निर्देशन दिएको छ।