काठमाडौं । जेन–जी विद्रोहको नाममा हजुरआमा पुस्ताकी सुशीला कार्कीको नेतृत्वमा बनेको काका पुस्ताको सरकारमा स्वास्थ्यमन्त्री बन्ने उपयुक्त पात्र नभेटाउँदा गठन भएको एक महिना बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत भदौ २३ गते जेन–जी पुस्ताले विद्रोह गरेको थियो र उक्त विद्रोहलाई दबाउन केपी ओली नेतृत्वको सरकारले अन्धाधुन्धरुपमा गोली चलाएर ७६ जनाको हत्या गरेको थियो र २३ गतेको हत्याकाण्ड र २४ भदौको आगजनी तोडफोड र लुटपाट काण्डपछि सेनाको सहजीकरण कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरे पनि अहिलेसम्म आठ सदस्यीय मात्रै बनाएकी छन् । पछिलो समय नेपाली पुस्ताका अगुवाहरुले पनि सरकारमा जान चासो देखाएपछि विस्तार गरेर मन्त्रिपरिषद्लाई १४ सदस्यीय बनाउने तयारी भइरहेको बुझिएको छ । त्यसमा सहभागी गराउने अरू मन्त्रीहरुको नाम निश्चित छनोट भइसके पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने उपयुक्त पात्र नपाउँदा मन्त्रिपरिषद् विस्तार रोकिएको बताइएको छ । यसअघि नै स्वास्थ्यमन्त्री बनाउन लागिएकी अतिरिक्त सचिव डा. संगीता मिश्रको नाम सपथग्रहण गर्ने बेला अकस्मात् काटिएको थियो । उनको नाम काटिएपछि प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने उपयुक्त पात्र पान नसकेकाले मन्त्रिपरिषद्लाई पूर्णता प्रदान गर्न नसकेको समाचार स्रोतको दाबी रहेको छ ।