काठमाडौं । जेन–जी आन्दोलनका कारण एक महिना अगाडि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सत्ताबाट बाहिरिन बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ अस्वीकार गर्दै उक्त आयोगमा बयान नदिने संकेत दिएका छन् ।
भदौ २३ गते भएको जेन–जी प्रदर्शनका कारण २४ गते काठमाडौंलगायतका देशका मुख्य सहरहरुमा आन्दोलन सुरु भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामासँगै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति निवास, मन्त्री निवास, प्रधानमन्त्रीको सरकारी निवास, सडक विभाग, स्वयम् ओलीको निवासलगायतका देशका विभिन्न भागमा जेन–जीको नाममा आगजनी, तोडफोड, प्रहरी कार्यालय जलाउने, हतियार लुट्ने, जेल तोडेर कैदीबन्दीहरुलाई भगाउने काम भएको थियो ।
उक्त प्रदर्शनमा सरकारी तर्फबाट भएको दमन तथा आन्दोलनको क्रममा भएको तोडफोड र हिंसाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सुशीला कार्की नेतृत्वको सरकारले पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगले अहिले काम गरिरहेको छ । आयोगको अध्यक्षमा नियुक्त कार्कीले भदौ २३ र २४ गते दर्जन बढी फेसबुक स्टाटस लेखेर ओलीलाई पक्राउ गर्नुपर्ने, थुन्नुपर्ने भन्दै आन्दोलनकारीलाई उत्तेजित पारेका थिए ।
पूर्वन्यायाधीशजस्तो व्यक्तिले आन्दोलनको बारेमा अशोभनीय स्टाटस लेखेर जनमानस भड्काएको प्रश्न उठिरहेको बेला जेन–जीको प्रतिनिधिको रुपमा बनेको कार्की नेतृत्वको सरकारले उनै गौरीबहादुरलाई जाँचबुझ आयोगको नेतृत्व गर्न दिएपछि त्यसले निष्पक्ष छानबिन नगर्ने भन्दै ओलीले उक्त आयोग स्वीकार्य छैन भनेका हुन् ।
‘एक महिना अगाडि पहिला नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ, जाक्नुपर्छ भन्नेको नेतृत्वमा आयोग बनाएर गज्जबको ड्रामा गर्नुभएको छ’, नेकपा एमाले भक्तपुरले गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘पहिले नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यो भनेर नाटक गर्ने, यस्तो नाटक नेकपा एमालेलाई मन्जुर छैन । स्वीकार्य छैन । मैले मसिनो भाषामा भनेको छु, यो स्वीकार्य छैन ।’
ओलीले उक्त आयोगलाई नक्कली भन्दै बयान दिन नजाने स्पष्ट संकेत गरेका छन् । उनले बयान दिन जान्न भन्ने शब्द त बिहीबारको भाषणमा गरेनन् तर उनको भनाइले उनी कार्की आयोगमा गएर भदौ २३ र २४ गतेको घटनाको बारेमा बयान दिने देखिँदैन ।
‘नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन । किन पनि मन्जुर छैन भने उहाँ (कार्की) को पूर्वअभिव्यक्तिहरुमा प्रश्न उठिसकेपछि सप्रमाण मानिसले ल्याइसकेपछि उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथ्यो ? एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष हुन सक्छ ? विरोधीबाट निष्पक्ष भइसक्नुभयो ? के गर्नुभयो ? गंगाजलले नुहाउनुभयो ? बागमतीको पानीले नुहाउनुभयो ? गहुँत खानुभयो ? के–के गर्नुभयो ? सुनपानी छर्किनुभयो ? के गरेर उहाँहरु निष्पक्ष हुनुभयो ? त्यो बताउनुप¥यो, बोल्नुभयो त उहाँहरु ? हामी निष्पक्ष छौ भन्न सक्नुभयो ? लुसुलुस अगाडि बढ्नु भएको छ । बढ्नुहोस्, तपाईहरुको प्रतिवेदन लेख्नुहोस्,, बुझाउनुहोस्, फैसला गर्नुहोस्, एमालेलाई मान्य छैन । नेपाली जनतालाई मान्ने छैन । मान्दैनौँ हामी, गर्नुहोस् के–के गर्नुहुन्छ ।’
नेपालको पहिचान मेटाउन सेनाको भूमिका !
एमालेद्वारा आयोजित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपाली सेनाको नाम नलिई नेपालको पहिचान मेटाउन नेपाली सेनाको भूमिका रहेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे ।
उनले नेपाली सेनाको बारेमा अब संयुक्त राष्ट्रसंघले पनि कसरी सोच्ला भनेर प्रश्न उठाए । ‘विश्व रंगमञ्च, विश्वमञ्चमा नेकपा एमालेले नेपाललाई चिनाएको छ । खास पहिचान देखाएको छ । अहिले त्यस पहिचानलाई केही घण्टाभित्र मेटाउने काम भएको छ । प्रश्न उठेको छ, हामी शान्ति सेनाका सबैभन्दा ठूलो योगदानकर्ता हौँ । अब संयुक्त राष्ट्रसंघले कसरी सोच्ला ? गम्भीर प्रश्न उठेको छ । कसरी सोच्ला ?’ नेपाली सेना अहिले संयुक्त राष्ट्रसंघ मातहत रहेर विभिन्न देशमा शान्ति स्थापनार्थ खटिने गरेको छ ।
सोही भाषणका क्रममा उनले जननिर्वाचित सरकारलाई हटाएर राजनीतिक दलहरुलाई बाइपास गरेर अन्तै वार्ता गरेको भनेर नेपाली सेना लक्षित शब्दहरु बोलेका थिए । ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा २४ गते नै राष्ट्रपतिले स्वीकृत गरेका थिए । राजीनामा स्वीकृत भएपछि आन्दोलनकारीहरुले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी कार्यालयको साथै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र व्यवसायीहरुको घरघरमा आगजनी गरेका थिए । त्यतिबेला सेना मौन बसेको थियो । सिंहदरबारको पश्चिम गेट तोडफोड गरेर आन्दोलनकारी भित्र पसेर आगजनी गरे पनि त्यही बसेको नेपाली सेनाले आन्दोलनकारीलाई सहजै बाटो छाडिदिएको थियो ।
सबैतिर आगोले जलेर खरानी भएपछि मात्रै राति दश बजे सेनाले सुरक्षाको जिम्मा लिएको थियो । त्यसपछि सैन्य मुख्यालय भद्रकालीमा विभिन्न पक्षसँग सेनाले वार्ता गरेको थियो । उक्त वार्तामा अहिले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत संसदीय राजनीतिमा रहेका कुनै पनि दललाई बोलाइएको थिएन । सेनाले माइकिङ गरेरै जेन–जीका प्रतिनिधिहरुलाई वार्तामा बोलाएको थियो । सेनाले राजनीतिक दललाई अवज्ञा गर्दै दुर्गा प्रसाईँलाई भने वार्तामा बोलाएको थियो ।
सम्पत्ति छानबिन गर्न चुनौती
कार्की नेतृत्वको सरकारले नेताहरुको सम्पत्ति छानबिन गर्ने भनिरहेको बेला पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति छानबिन गरेर दोषी देखाउन खुला चुनौती दिएका छन् । उनले ओली जिउँदो भएको बेलामा मात्र होइन मरेपछि स्वर्गमा पनि गएर सम्पत्ति छानबिन गर्न पटक–पटक चेतावनी दिए ।
जेन–जी आन्दोलनको क्रममा ओली, माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन ओली नेतृत्वको सरकारका मन्त्रीहरुको घरमा आगजनी भए पनि प्रचण्ड, देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घर मात्र पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । सम्पत्ति छानबिनको बारेमा ओलीले आफू प्रधानमन्त्री भएको बेला पनि पटक–पटक यस्तै कडा अभिव्यक्ति दिँदै आएका छन् ।
ओलीले राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गरेर राजनीतिक दलहरुलाई हतोत्साही बनाउनुको सट्टा आफ्नै मन्त्रीहरुको सम्पत्ति छानबिन गर्न चेतावनी दिएका छन् । ओली निकट एमाले नेता महेश बस्नेतले पनि बुधबार पत्रकार सम्मेलन गरेर कार्की नेतृत्व सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र कुलमान घिसिङको सम्पत्ति छानबिन गरेर देखाउन पटक–पटक आग्रह गरेका थिए । घिसिङले पदको दुरुपयोग गरेर अर्बौँ रुपैयाँ जम्मा गरेको भनेर अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरीको चाङ छ । घिसिङको हालको आर्थिक हैसियत र खर्च तथा उनको आम्दानी मेल खाँदैन ।
ओलीले गौरबहादुर कार्कीजस्तै पूर्वाग्रही आयोग बनाएर छानबिन गरेमा मात्र नेताहरुलाई सम्पत्तिको बारेमा दोषी देखाउन सकिने दाबी गरे । वर्तमान सरकारलाई नेपालीको प्रतिनिधि नभएको ओलीले ठोकुवा गरे । एक महिना अगाडि मात्र प्रधानमन्त्री पदबाट हटेका ओलीले अहिलेको सरकारलाई विदेशीको प्रतिनिधि भएको संकेत गरेपछि यसले कूटनीतिक क्षेत्रमा पनि तरंग मच्चिएको छ । तर, वर्तमान सरकारले आफूहरुलाई जेन–जीको प्रतिनिधित्व गरेको सरकार भनिरहेको छ । तर, नाम जेन–जीको लिए पनि हजुरआमा पुस्ताकी कार्कीले सरकारको नेतृत्व लिएकी छिन् भने अन्य मन्त्रीहरु पनि जेन–जीको प्रतिनिधि भन्न सकिने अवस्था छैन ।
गृहमन्त्रीलाई चेतावनी
ओलीले गृहमन्त्री ओम प्रकाश अर्याललाई होच्याउँदै उत्ताउलो नबन्न र नचम्किन चेतावनी दिएका छन् । उनले गृहमन्त्री बन्नुअघि उनको नाम नै नसुनेको जिकिर पनि गरे । गृहमन्त्री बन्नुअघि अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार थिए । ओलीले गृहमन्त्री अर्याललाई अहिले आफूलगायत नेताहरुलाई समात्ने, भोलि समात्नेजस्ता कुरा गरेर उत्ताउलो नबन्न र नचम्किन भनेका हुन् । राजनीतिलाई ख्याल ठट्टाको रुपमा नलिने चेतावनी दिँदै ओलीले कुरा बुझेर चल्न मात्र गृहमन्त्री अर्याललाई सुझाव दिए । आफूहरु जुनसुकै बलिदान दिन तयार रहेको भन्दै ओलीले पूर्वाग्रही भएर कारबाही गरिए त्यसको बदला लिने संकेत गरे । ओलीले गृहमन्त्री अर्याललाई भने, ‘जुनसुकै बलिदान दिन तयार छौँ । जिस्क्याइरहनु पर्दैन ।’