दोलखा । दोलखाको लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गएर फर्कने क्रममा बीच बाटोमा अलपत्र परेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका दुई जना र स्विजरल्यान्डका दुई जना गरी चार जना पर्यटकलाई बिहीबार उद्धार गरिएको हो । जिल्लाको बिगु गाउँपालिका वडा नम्वर १ लप्चीको देउरालीमा गत मंगलबार गएको सुख्खा पहिरोले उनीहरु ४८ घण्टा अलपत्र परेका थिए । बाटो अवरुद्ध भएपछि उनीहरु सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाइड्रोपावरमा बसेका थिए । हाईड्रोपावरमा बसेका विदेशी पर्यटकलाई बिहीबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौं पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार एक जना नेपाली गाइडसहित उनीहरु बिगु गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्न लप्ची गुम्बा लुमनाङ पुगेका थिए । मंगलबार लामाबगर क्षेत्रमा सुख्खा पहिरोले फसेका उनीहरु १५ किलोमिटर पैदल हिँडेर उद्धारका लागि सहयोग माग्दै हाइड्रोपावरको क्याम्पमा पुगेको हाइड्रोपावरका प्रशासन प्रमुख हेमराज तामाङले जानकारी दिए । तामाङले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलाई खबर गरेर बिहीबार उद्धार गरेर काठमाडौं पठाइएको जानकारी दिए ।