काठमाडौं । ड्राइभिङ स्कुल संघले ट्रायल सेन्टर छनौटसम्बन्धी टेन्डर प्रक्रिया रद्द गर्न माग गरेको छ । मिलेमतोमा चलखेल गरी ट्रायल सेन्टर छनौटसम्बन्धी टेन्डर आह्वान गरिएको भन्दै संघले रद्द गर्न माग गरेको हो ।
राजधानीको संवाद डबलीमा संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशअन्तर्गत कभ्रेपलाञ्चोक यातायत व्यवस्था कार्यालयले नियमविपरीत टेन्डर सूचना जारी गरेकोे आरोप लगाएको छ । ड्राइभिङ स्कुल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीतिनियम र कानुनविपरीत १५ दिने सूचना दिनु सरासर गलत भएको बताए ।
बुढाथोकीले विनाप्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल सेन्टरलाई टेन्डर दिन लागेको आरोप लगाए । काठमाडौं ड्राइभिङ स्कुल संघका अध्यक्ष रमेश खत्रीले ‘सुमन ग्रुप अफ ट्रायल सेन्टरलाई’ टेन्डर पार्ने गरी नियमविपरीत सूचना निकालेको आरोप लगाए । सुमन ग्रुपले आफ्नै ट्रायल सेन्टरले टेन्डर पाउने निश्चित भएको हल्ला गरेको बताउँदै खत्रीले भने, ‘२०८१ मंसिर १९ गते पनि सुमन गु्रपलाई नै पार्ने गरी सेटिङ गरिएको देखिन्छ, अहिले ०८२ असोज १० गतेको सूचना पनि सोही अनुसार निकालिनु आर्थिक चलखेल प्रष्ट छ ।’ यसरी कोही कसैले थाहै नपाउने गरी सार्वजनिक चासोको विषयमा गुपचुप गरी टेन्डर अगाडि बढाइएकाले त्यसलाई रद्द गर्न खत्रीको माग छ ।
खत्रीले एकातिर देशैभर सवारीचालक अनुमति पत्रलगायतका यातायातसम्बन्धी सरकारी सेवा बन्द भइरहँदा काभ्रे यातायात व्यवस्था कार्यालयले सूचना निकाल्नु बदनियतपूर्ण भएको बताए । ड्राइभिङ्ग संघ काठमाडौं जिल्ला सचिव सरोज बोहोराले अपारदर्शी ढंगबाट बढाईको टेन्डर प्रक्रिया रद्द गर्न माग गरे । बोहोराले अघिल्लो वर्ष खोलिएको टेन्डर सुमन ग्रुपले नपाएपछि यस वर्ष पनि उसैलाई दिन आन्तरिकरुपमा मिलेमतो भएको आशंका गरे । उनले भने, ‘दशैं, तिहारको मौका पारेर १५ दिने सूचना, त्यो पनि काहीँकतै सार्वजनिक नगर्नु, अघिल्लो वर्ष र यस वर्षका टेन्डर आह्वानका सर्तहरु फेरबदल गरिनुलगायतका विषयले प्रष्ट देखिन्छ कि मिलेमतोमा चलखेल गरी भ्रष्टाचार भएको छ ।’
पत्रकार सम्मेलनमा ड्राइभिङ संघ भक्तपुरका अध्यक्ष रामभाइ बानियाँ र ड्राइभिङ संघ काभ्रेपलाञ्चोक जिल्लाका उपाध्यक्ष रुपेश काफ्लेले सो टेन्डर तत्काल रद्द नगरिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।