काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक सेयर जारी तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौताअन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ । एक कार्यक्रमका बीच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण कार्य भइरहेको छ । कम्पनीले २०७४ कात्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्सन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ । हालसम्म आयोजनाको ७८ प्रतिशत कार्य सकेको र बाँकी कार्य २०८२ चैत महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने अर्थात् २० करोड २० लाख रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २० लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएकोे हो ।
यो सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पुँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा व्यक्त गरेका छन् ।