काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया अपनाउन सरकारसँग माग गरेका छन् । बिहीबार महासंघ परिसरमा आयोजित स्व. शरदकुमार गौचनको आठौँ स्मृति दिवसको कार्यक्रममा उनले रुग्ण आयोजना अन्त्य गर्ने नाममा निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर सरकार लाग्न नहुने बताए ।
उनले जेन–जी पुस्ताको आन्दोलनमार्फत सत्ता प्राप्त गरेको वर्तमान सरकारले अहिलेको आर्थिक मन्दीमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए । आन्दोलनले आर्थिक अवस्था कमजोर हुँदा निर्माण क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ थियो । सिंहले भने, ‘अन्तरिम सरकारले केवल निर्वाचन गराउने मात्र होइन, देशमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्यमा पनि गम्भीर हुनुपर्छ ।’ साथै, उनले हाल निर्माण क्षेत्रमा कामको अभाव रहेको भन्दै स्थानीय तहले आवश्यकताभन्दा बढी लाइसेन्स वितरण गरेको आरोप लगाए । सरकार पनि कामको अवसर सिर्जना नगरी केवल लाइसेन्स वितरणमा सीमित भएको उनको भनाइ थियो । सिंहले कुनै पनि निर्माण कार्यको लागत अनुमान (स्टिमेट) यथार्थपरक हुनुपर्ने र सकेसम्म कामहरू साना प्याकेजमा विभाजन गरी बढीभन्दा बढी निर्माण व्यवसायीलाई सहभागी गराउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा अध्यक्ष सिंहले नेपालको निर्माण क्षेत्रमा स्व. पूर्वअध्यक्ष गौचनको योगदान उल्लेखनीय रहेको बताए । नेपालको निर्माण क्षेत्रमा गौचनको अभाव सधैँ महसुस भइरहने उनको भनाइ थियो । महासंघका पूर्वअध्यक्षहरु सुकुन्तलाल हिराचन, जयराम लामिछानेले निर्माण व्यवसायीहरुको विकासका लागि गौचनले सधैँ त्याग मात्र गरेको बताउँदै उनको जीवनीबाट व्यवसायीहरुले शिक्षा लिनुपर्ने बताए । निर्माण उद्योग अत्यन्त ठूलो सकसमा रहेको भन्दै उनीहरुले अहिलकै स्थितिमा मुलुकमा निर्माण काम गर्न नसकिने बताए । महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले राज्यले निर्माण उद्योगलाई अझै पनि सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसकेको आरोप लगाए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), नीतिगत उपमहासचिव शिवहरि घिमिरे, बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर लामा, काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङ (विजय) लगायतले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताएका थिए ।
कार्यक्रममा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । श्रद्धाञ्जलि सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्धकदको शालिकमा गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकार तथा पदाधिकारीहरु, कार्यसमिति सदस्यलगायतले माल्यार्पण गरेका थिए । गौचनको आठौँ स्मृति दिवसको अवसरमा बिहीबार सातै प्रदेश निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवास नजिकै गोली हानी हत्या गरिएको थियो ।