नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ। केही बेरअघि प्रारम्भ भएको बैठकमा पार्टीभित्रका आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति, जेन–जेड आन्दोलनपछि पार्टीको अवस्था, र आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल भइरहेको छ।
स्रोतका अनुसार, आजको बैठकमा अध्यक्ष ओलीले हालै विभिन्न प्रदेश, जिल्ला र प्रवास कमिटीका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको विवरण प्रस्तुत गर्ने तयारीमा छन्। साथै, सरकारले लिन सक्ने राजनीतिक कदम, आगामी निर्वाचनको सम्भावना र पार्टीको रणनीति पनि छलफलको एजेन्डामा समावेश गरिएको छ।
एमालेभित्र हाल संसद पुनःस्थापना र नयाँ निर्वाचन विषयमा मतभेद बढेको छ। अध्यक्ष ओलीले हिजो मात्र सार्वजनिक रुपमा “संसद पुनःस्थापनाको एजेन्डा लिएर सडकमा जानुपर्ने” अभिव्यक्ति दिएका थिए। तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने देशलाई निकास दिन चुनाव नै विकल्प भएको बताउँदै आजको बैठकमा सो विचार प्रस्तुत गर्ने तयारी गरेकी छन्।
यससँगै, पार्टीभित्र नेतृत्व परिवर्तनको बहस पनि पुनः चर्किएको छ। केही नेताहरूले अध्यक्ष ओलीलाई नेतृत्वबाट बिदा दिई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक बनाउँदै महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्। बैठकबाट एमालेले पार्टीभित्रको मतभेद समाधान गर्दै आगामी राजनीतिक कदम स्पष्ट गर्ने अपेक्षा गरिएको छ।