काभ्रेपलाञ्चोक । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले शुक्रबार बिहानसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको बताए । उनका अनुसार शुक्रबार दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।
“ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उनले भने ।
औपचारिक रुपमा मङ्गलबारदेखि डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो ।
बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो रातको समयमा काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए ।