काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा चुनावको पारदर्शी र सुचारु वातावरण सुनिश्चित गर्न सर्वदलीय बैठक बोलाएका छन्। केही बेरअघिबाट शीतलनिवासमा सुरु भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन उपस्थित छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल, जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन्। राष्ट्रपति पौडेलले बैठकमार्फत सरकार र सबै राजनीतिक दलसँग चुनावको वातावरण सुधार र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने उपायहरूमा सामूहिक छलफल सुरु गरेका छन्।