काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (MCVTC)ले जनाएको छ। शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं।” शनिबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग वार्ता तय भएको थियो। तर वार्ता सुरु हुनुअघि नै राष्ट्रपति अस्वस्थ भएपछि अस्पताल लगिएको हो। राष्ट्रपतिको सचिवालयका अनुसार जेनजी प्रतिनिधिसँगको वार्ता आगामी सोमबार पुनः सञ्चालन गरिने छ।