काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीमा जोडिएका माओवादी नेतामध्येका एक प्रमुख भनिएका पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध छानबिन थालेपछि माओवादी केन्द्र सशंंकित भएको छ ।
आयोगले विद्युतीय चुरोट (भेप)भित्र लुकाएर नौ किलो ११ दशमलव ५४ ग्राम सुन तस्करी गरेको आरोपमा महराविरुद्ध पुनः छानबिन अगाडि बढाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै राजनितिक दल तथा पक्षसँग राष्ट्रिय सहमतिको पहल गर्न अपिल गरेका छन् । आयोगले बिहीबार महरासँग बयान लिन थालेपछि अध्यक्ष प्रचण्डले शुक्रबार त्यस्तो अपिल गरेका हुन् । तस्करीको उक्त सुन तस्करीमा चिनियाँ नागरिकद्वय लुई र दावाजिङसहित कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, लोकन्द्र पौडेल, श्याम शाह र खुवाप्रसाद न्यौपाने जोडिएका छन् ।
पूर्वन्यायाधीश दिल्ली आचार्यको नेतृत्वको न्यायिक छानबिन आयोगले उनीहरुलाई कारबाहीको सिफारिस गरेपछि गत २०८० चैत ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरको पाँच दिनपछि उनलाई मुद्दा नचलाई छाडेको थियो । २०७९ पुसमा समातिएको उक्त सुन तस्करीको अहिले छानबिन हुन थालेपछि अध्यक्ष प्रचण्ड अत्तालिएर राष्ट्रिय सहमतिको अपिल गर्न पुगेका हुन् ।
दश वर्षे हिंसात्मक द्वन्द्वबाट आएको माओवादी नेताहरुले जनयुद्ध सञ्चालनका लागि उतिबेलै वैद्य/अवैद्य धन्दा गर्दै आएका थिए र त्यसैबाट हतियारको जोहो गर्ने गर्दथे । तर त्यतिबेला पनि माओवादी नेताहरुमा सुनकाण्डका आरोप लाग्ने गरेका थिए । खासगरी बैठकबाट लुटेका सुन लुकाएको आरोप लागेर पार्टी कारबाहीमा समेत परेका थिए । उतिबेला दाङबाट २१ किलो सुन चोरेको आरोप माओवादी नेता शक्तिबहादुर बस्नेतमाथि लागेको थियो ।
त्यसैगरी, अर्का नेता देवेन्द्र पौडेलले स्याङ्जाबाट सात किलो सुन चोरेको आरोप लागेको थियो । कथित जनयुद्ध कालमा माओवादीले बैंकबाट लुटेको सुन आधा बजार मूल्यमा लिलाम बिक्री गर्दा काठमाडौंका सुनतस्करहरु हेलिकोप्टर लिएर सुन उठाउन जाने गर्दथे । युद्धकालमै सुन र लागू औषधको अवैध कारोबारमा पल्किएका माओवादी नेताहरु शान्ति प्रकियापछि सत्तामा पुगेर त्यही बाटो हिँड्न थालेका थिए ।
त्यही क्रममा प्रचण्डनिकट मानिने पूर्वसभामुख महरासहित उनका दुवै छोरा निर्मल महरा र राहुल भनिने राकेश महरा सुन तस्करीमा जोडिएका छन् । गृहमन्त्री भएको तेस्रो दिनमै प्रचण्डले तीन करोड मागेपछि सम्बन्ध चिसिएर पछि एमाले छिरेका रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि सुन तस्करीमा जोरिएका छन् । अहिले प्रचण्डका दाहिने हात मानिएका वर्षमान पुन उनका भाइ प्रनिस पुन, विश्वास पात्र अमला रोका, उनको विदेशी लोग्ने दावा छिरिङ पनि ६१ किलो सुन तस्करीमा जोडिएका छन् ।
अध्ययक्ष प्रचण्डका अर्का विश्वासपात्र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका दुई छोरा जीतेन्द्र पुन, दिपेश पुन र सल्लाहकार जीवन गुरुङ २०८० मंसिर २१ गते दुबईबाट तस्करी गरेर ल्याएको १४ किलो सुन प्रकरणमा पक्राउ परेका थिए । गुरुङविरुद्ध एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी भएको थियो । पूर्व उपराष्ट्रपति पासाङका जेठा छोरा जीतेन्द्र पुनले हुम्ला नाकाबाट सुन भित्र्याउने गरेको र चीनबाट तरुकरी गरेर ल्याएको सुनको भुक्तानी नदिएपछि उनी चिनियाँ अदालतबाटै अभियुक्त ठहर भएका अपराधी हुन् । प्रचण्डको परिवार आफैँ सुनकाण्डसँग जोडिएको छ ।
उनकी छोरी गंगा दाहालले त्यसको संयोजन गर्ने गरेकी छन् । उनीबाहेक प्रचण्ड निकटमा मानिएका प्रायःजसो नेता सुनकाण्डमा जोडिएपछि त्यसमाथि हुने कारबाहीले प्रचण्ड पार्टीमा एक्लिने अवस्था देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डसँग नजिक रहेको नेतृत्व घेरामा महरा, पासाङ, वर्षमान पुन, शक्ति बस्नेत नै हुन् । उनीहरु सबै सुन तस्करीमा जोडिएकाले त्यसमाथि छानबिन हुँदा पार्टीभित्र प्रचण्ड एक्लिने अवस्था रहेको छ ।
यसअघि म्याजिकल ३२ नम्बर हुँदा र नहुँदा पनि प्रचण्डले कांग्रेस र एमालेलाई पालैपालो खेलाएर विभिन्न काण्डसँग सौदाबाजी गर्दै आफ्नो उत्तराधिकारीहरुलाई संरक्षण गर्दै आएका थिए । अहिले जेन–जी विद्रोहपछि पनि अपदस्थ राजासँग हात मिलाउने प्रयास असफल भएपछि फेरि दलहरुतिर नै फर्किएर आफ्ना युवराजहरुलाई जोगाउन राष्ट्रिय सहमतिको अपिल गर्न पुगेका छन् ।