दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले पहिरो पीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पहिरोको उच्च जोखिममा परेका दुई वडाका १३ घरधुरीलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । गत असोज १८ र १९ गतेको अविरल वर्षाको कारण तामाकोशी गाउँपालिका वडा न २ को रातो पहिरो र वडा न १ को जोगिटार माझीगाउँ पहिरोको कारण १३ घरधुरी उच्च जोखिममा परेका थिए । पहिरोको स्थलगत निरिक्षण र प्रहरी मुचुल्का अनुसार अनुदान उपलब्ध गराउन लगिएको गाउँपालिकाले जनाएको छ । पहिरो स्थलको भौगर्भिक अध्ययन प्रतिवेदनबाट पहिचान भएका पहिरोबाट जोखिम घरपरिवारलाई तत्काल जोखिम भएको स्थानबाट स्थानान्तरण गरिने निर्णय समेत गरिएको तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् । स्थान्तरण हुने घरहरुलाई स्थानीय विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि अनुसार तामाकोशी गाउँपालिकाको विपद/प्रकोप व्यवस्थापन कोषबाट अनुदान उपलब्ध गराईने छ ।
विपद् ब्यवस्थापन समितिको बैठकले पहिरोबाट प्रभावित घर परिबारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनस्र्थापना गर्न आवश्यक बजेट र पहलका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार समेत गरेको छ । पहिरोबाट जोखिममा रहेको बस्तिहरुको अल्पकालीनरुपमा पहिरो न्यूनीकरण र रोकथामको लागि तत्काल गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्राविधिक मुल्यांकन र प्रतिवेदनको आधारमा पानी कटाउने र बृक्षरोपण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा भू–संरक्षणसँग सम्बन्धित निकायहरुमा बजेट विनियोजनका लागि अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । पहिरोले १३ घरलाई उच्च जोखिममा पार्नुको साथै सयौं रोपनी खेतीयोग्य जमिन कटन गरेको छ ।