काठमाडौं । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि. रामबजार पोखराको २३औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संस्थाका संरक्षक उत्तमबहादुर पुनले संस्थाले जति प्रगति गर्नुपर्ने हो त्यति गर्न नसकेकोमा दुःख व्यक्त गरे । यो बहुउद्देश्यीय संस्था भएकोले एकैखाले काममा मात्र नअल्झिई नयाँ कामको पनि थालनी यसै संस्थाले गर्नुपर्ने सञ्चालक समितिलगायत कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा सेयरधनीद्वय जनक बोहरा र कृष्णप्रसाद दाहालले संस्थालाई नाफामूलक बनाई सृजनात्मक कार्यमा सहकारी अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । सभाले लेखा प्रतिवेदन, सञ्चालकहरूको प्रतिवेदन सर्वसम्मतरूपमा पारित समेत गरेको थियो । लेखासमिति संयोजक प्रताप पुनले आफ्नो प्रतिवेदन पढेर सुनाएका थिए भने सञ्चालकको तर्फबाट संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले पढेर सुनाएका थिए । दुवै प्रतिवेदन सर्वसम्मतरूपमा सेयर सदस्यहरूले पारित गरेका थिए ।