काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारणसभामा उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए । अहिले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रलाई पुनर्उत्थानमा लाग्नुपर्ने उनको भनाइ थियो । आन्दोलनको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको उल्लेख गर्दै उनले पछिल्लो समय यो संख्यामा वृद्धि भइरहेको जानकारी दिए । उनले भने, ‘सेप्टेम्बर ८ र नौपछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सयसम्म पुगेको छ । हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले काम गरिरहेको छ ।’