काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै सडकमा उतार्ने, राष्ट्रिय सम्पदा ध्वस्त पार्ने र सरकारी तथा निजी सम्पत्ति लुटपाट गराउने आरोप लगाउँदै नेविसंघले शाह र गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा जाहेरी दर्ता गराएको हो। नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले जाहेरी दर्ता गराएका हुन्। उनीहरूले २४ घण्टाभित्र पक्राउ प्रक्रिया अघि बढाउन माग गरेका छन्। प्रहरीले जाहेरी प्राप्त भएको पुष्टि गर्दै “कानुनी अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने” जनाएको नेविसंघले जनाएको छ। यसअघि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पनि बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको थियो।