काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुुसान्धन ब्युरो (सीआईबी)ले सुन बेचबिखन गर्ने र समूह बनाई संगठितरुपमा आपराधिक लाभ लिएको आरोपमा महरालाई पक्राउ गरेको हो ।
महरालाई भन्सार ऐन, २०६४ अनुसार पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए । महरामाथि आपराधिक लाभ र संगठित अपराध गरेको अभियोग समेत छ । उनी रबिचन महराका छोरा हुन् । रोल्पा साविक लिवाङ गा.वि.स. ७ घर भई हाल ललितपुर महानगरपालिका २६ खुमलटार बस्दै आएका छन् । ६८ वर्षीय महरालाई आइतबार पक्राउ गरेर थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विसं २०७९ साल पुस १० गते दुबईको फ्लाइट नम्बर एफ.जेड ५८७ बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी नं. ई.जी ६३५००३० वाहक ली हानसोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको सात सय ३० थान इलेक्ट्रिक सिगरेट अवैधरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गर्दा जफत गरिएको थियो ।
जफत गरिएको सुनसहितको सिगरेट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो । सिगरेटमा आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन फेला परेको थियो । उक्त भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्कासहितले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको सात सय ३० थान सुनसहितको ईलेक्ट्रिक चुरोट बेचबिखन गरी आपराधिक समूह बनाई संगठितरुपमा आपराधिक लाभ लिएको अनुसन्धानका क्रममा भेटिएको थियो ।
त्योसँगै भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका आधारमा पूर्वसभामुख महरालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।