काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गर्ने भएको छ । ‘तिहारको उत्सव, फुलको महोत्सव’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागिएको हो ।
तिहारलाई लक्षित गरी फुल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धनको उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने किसिमले प्रचारप्रसार भइरहेको बताइन् । उनका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनसहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सिर्जनालाई यस एक्स्पोको प्रमुख उद्देश्य बनाइएको छ । ‘वनस्पति र बोटबिरुवाको संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ’, संयोजक महर्जनले भनिन्, ‘नर्सरी व्यापारिक गतिविधि नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय हो । वनजङ्गल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पुर्याउन नर्सरी व्यवसायीको योगदान छ ।’
संघले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै, गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने संघले बताएको छ । संघले हालको राजनीतिक अनिश्चितता र अस्थिरताले व्यवसायी समुदायमा मनोबल कमजोर बनाएको भए पनि यस्तो परिस्थितिमा सबै पक्षले व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ । महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताका कारण सिर्जिएको मनोवैज्ञानिक दबाबलाई कम गर्न व्यवसायीबीच सहकार्य र आत्मविश्वास बढाउनु जरुरी रहेको बताइन् ।