काठमाडौं । १८ औँ संस्करणको गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गते बुधबारदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा प्रदर्शनी हुन लागेको हो । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०५१ सालदेखि लगाताररुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । तिहार पर्व नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवम् गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका यस वर्ष पनि प्रदर्शनी आयोजना गरिएको फ्यानले जनाएको छ । फ्यानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनीको बारेमा जानकारी दिएको हो ।
प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल र दुईवटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने छन् । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको सो प्रदर्शनीमा चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र बिक्री वितरण हुने जनाइएको छ । विशेषगरी यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने आयोजकले जनाएको छ । प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लेवर रहने छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस सिजनमा उपलब्ध हुने वा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलहरुका साथै आलंकारिक बोटबिरुवाहरुको समेत प्रदर्शनीमा समावेश तथा बिक्री वितरण हुनेछन । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा प्रदान गरिने आयाजकको भनाइ छ । साथै, फूल तथा बोटबिरुवाहरुमा लाग्ने रोग किराहरु तथा बिरुवाको स्वास्थता परीक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका लागि बालीरोग विशेषज्ञहरुसहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराउने जनाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड तीस लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
साथै, फ्यानको आयोजना र लाइन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा मेला तेस्रो दिन शुक्रबार, रक्तदान कार्यक्रमको समेत आयोजना गरिने भएको छ । मेलाको बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उद्घाटन गर्नेछन् ।