ढाका । कुनै समय बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको अवामी लिगलाई गत वर्ष सामूहिक जनविद्रोहका क्रममा तत्कालीन नेत्री शेख हसिनालाई सत्ताच्युत गरिएपछि गैरकानुनी घोषित गरिएको थियो ।
तर आगामी चुनाव नजिकिँदै गर्दा उहाँका समर्थकहरू पुनः सक्रिय बनेका छन् । उनीहरूले सामाजिक सञ्जालमा फैलिएको ‘प्रतिरोध’को आह्वानबाट प्रेरित भएर प्रतिबन्धलाई बेवास्ता गर्दै देशभर फ्ल्यास मोब शैली (सार्वजनिक स्थानमा सङ्गठित हुने र तुरुन्त तितरबितर हुने तथा सङ्गठित हुन सामाजिक सञ्जालको प्रयोग गर्ने)का विरोध प्रदर्शन सुरू गरेका छन् ।
राजधानी ढाकामा ४५ वर्षका सरसफाइकर्मी मोहम्मद कासेमले अवामी लिगका करिब २५ जना निष्ठावान समर्थकहरू सहभागी भएको एक प्रदर्शन देखेका थिए । उनका अनुसार प्रहरीहरूले ती प्रदर्शनकारीलाई पछ्याई कुटपिट गरी हिरासतमा लिएका थियो । ‘यो त केवल एक ठाउँमा होइन, सहरभरि भइरहेको छ’, कासेमले भने, ‘फेसबुकमा हरेक दिन यस्ता भिडियोहरू देखिन्छन् ।’
सन् २०२६ फेब्रुअरीमा हुने अपेक्षा गरिएको आगामी निर्वाचन शेख हसिनाको १५ वर्ष लामो शासनपश्चातको पहिलो हुनेछ । जनआन्दोलनको बीचमा भीडले प्रधानमन्त्री आवासमा आक्रमण गरेपछि हसिना भारत निर्वासनमा जान बाध्य भएका थिए । त्यसयता उनले विद्रोहका क्रममा भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अदालतमा हाजिर हुन अस्वीकार गरेका छन् ।
उनको पार्टी र समर्थकहरू भूमिगत अवस्थामा पुगेका छन् । अधिकारीहरूले हालसम्म यस्ता फ्ल्यास मोब प्रदर्शनहरूसँग सम्बन्धित आठ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएका छन् । यी प्रदर्शनहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई चुनावसम्म स्थिरता कायम राख्ने प्रयासमा चुनौती दिएको छ ।
जोखिम उच्च भए पनि समर्थकहरू सडकमा उत्रिन रोकिने पक्षमा छैनन् । केही प्रदर्शनहरूमा केवल थोरै मात्र युवा सहभागी हुन्छन् भने कतिपयमा सयौँ मानिस नारा लगाउँदै देखिन्छन् — ‘शेख हसिना फर्किंदै हुनुहुन्छ !’ र ‘बंगलादेश मुस्कुराउँदैछ !’ भीड केही मिनेट नाराबाजी गरेपछि तितरबितर हुन्छन् । कहिलेकाहीँ ढाकाका फरक–फरक भागमा एकैपटक धेरै आकस्मिक प्रदर्शनहरू हुने गरेका छन् । एक दिन मात्रै प्रहरीले दुई सय ४४ जनालाई पक्राउ गरेको बताइएको छ ।
कासेमका अनुसार उनले देखेको र्यालीमा धेरै प्रदर्शनकारीलाई प्रहरीहरूले कठोर रूपमा कुटपिट गरेका थिए । “यी मूर्ख केटाहरू हुन्”, उनले भने, ‘हेभिवेट नेताहरूले तिनीहरूलाई त्यागे पनि उनीहरूले आफ्नो जीवनलाई जोखिममा राखिरहेका छन् ।’
अन्तरिम सरकार यस्ता प्रदर्शनहरूबाट असहज बनेको देखिन्छ । अन्तरिम सरकार प्रमुख युनुसका प्रेस सचिव शफीकुल आलमले गत महिना भनेका थिए, ‘फासीवादीहरू अस्थिर बनेका छन्, किनकि उनीहरूले देखिरहेका छन् कि देश चुनावतर्फ अगाडि बढ्दैछ र (हसिनाको) मुद्दा तीव्र गतिमा अघि बढिरहेको छ ।’ रासस/एएफपी