भोजपुर । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।
विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले राससलाई बताए । “यो हाम्रो पूर्खौली पेसा हो” उनले भने, “तर अहिले सङ्कटमा परेको छ । पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ ।”
गाउँघरमा पाइने गोगुन, पँयू, दार, मौवा, कटहरजस्ता काठबाट गोलिया तयार गरी फलामको धारिलो हतियार ‘बाँक’ प्रयोग गरेर ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायतका सामग्री बनाउने चलन आज पनि केहीले निरन्तरता दिइरहेका छन् ।काठलाई आकार दिन उनीहरूले अझै पनि परम्परागत विधि प्रयोग गर्छन् । खोलाबाट पानी डुँढमा खसालेर काठ घुमाउने र त्यसपछि हातले यन्त्र चलाएर कुद्ने शैली अहिले पनि प्रयोगमा रहेको छ ।
हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले बताए । “हामी अझै पनि बाउबाजेले जसरी काम गर्थे, त्यही विधिमा काम गर्छौँ” उनले भने, “आधुनिक उपकरण प्रयोग गर्न पाएका भए काम सजिलो र आकर्षक हुन्थ्यो ।”
उनका अनुसार अहिले परम्परागत उपकरणले काम गर्दा धेरै श्रम र समय खर्चिनुपर्ने भएकाले जीविका चलाउनसमेत कठिन भएको छ । पहिले गाईभैँसीको दूध जमाउन, मोही पार्न प्रयोग हुने काठका सामग्री गाउँघरमा अनिवार्य थिए । तर अहिले ती वस्तुलाई बजारमा पाइने स्टिल र प्लास्टिकका भाँडाले प्रतिस्थापन गरिरहेको विकको भनाइ छ । “यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको पेसा हो” उनले भने, “यसलाई जोगाउन सरकारले तालिम र प्रविधिको सहयोग गर्नुपर्छ । तब मात्र नयाँ पुस्ता आकर्षित हुन्छ ।”
उचित संरक्षण, आधुनिक उपकरण र बजार प्रवर्द्धनका उपाय अपनाउन सके यो परम्परागत सीपले सांस्कृतिक पर्यटन र रोजगारीको नयाँ बाटो खोल्न सहयोग पुग्ने यो पेसामा आवद्धहरुको भनाइ छ ।