काठमाडौं । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्। शर्माले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै राजीनामा बुझाएकी हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट मन्त्री बनेकी थिइन्। राजीनामा पत्रमा तिवारीले लेखेकी छन् —“मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु।”उनको राजीनामासँगै मुख्यमन्त्री सिंहको सरकार थप संकटमा परेको छ। सिंह अहिले अल्पमतमा परेका छन्। यसअघि मुख्यमन्त्री सिंहलाई उनकै पार्टी जनमतले समर्थन फिर्ता लिएको थियो। त्यसपछि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेले पनि समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको दाबी गरिसकेका छन्। अब सिंहले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने अवस्था आएको छ। स्रोतका अनुसार प्रदेशसभामा नयाँ राजनीतिक समीकरणका लागि दलहरूबीच छलफल तीव्र बनेको छ।