काठमाडौं । नेपाल प्रहरीमा कार्यरत हवल्दार महेश सिंह ऐरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनले अपराधीहरुसँगको मिलेमतोमा दुई केजी सुन गाएब पार्नुका साथै अपराधिक कार्यमा समेत संलग्न भएकाले अनुसन्धान गर्न मागसहित उजुरी परेको हो ।
उजुरीमा हवल्दार ऐरी सम्मिलित सीआईबी टोलीले २०६९ साल पुष २४ गते काठमाडौं महानगरपालिका ३० महाबौद्धमा रहेको तत्कालीन कैलाश बैंकको मुनी बा १० च २०६८ नम्बरको टाटा पिकअप भ्यान र बा ५३ प १७७७ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गरेको थियो । सो क्रममा सिन्धुपाल्चोकको इचो ५ घर भई हाल काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी बस्ने ३७ वर्षका दीर्घबहादुर थापा र धादिङ गजुरी वडा ४ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने २१ वर्षका समिर बराकोटीलाई पाँच केजी सुनसहित समाए पनि दुई केजी सुन लुकाएर घर हिँडेको उल्लेख छ ।
हवल्दार ऐरीले अपराधीलाई समाएर लैजानुपर्नेमा दुई केजी सुनसहित आफ्नो छोरा बिरामी छ भन्दै त्यहीँबाट घरतर्फ गएको र त्यसको दुई दिनपछि गाउँमा बुबा बिरामी हुनुहुन्छ भन्दै सीआईबी कार्यालयमा तीन केजी सुन बुझाएर हिँड्दा समेत उनीमाथि प्रहरीले अनुसन्धान नगरेर मिलेमतोमा लुकाएको उजुरीमा आरोप लगाइएको छ । हवल्दार ऐरीले पदको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाउन लागेको भन्दै यस अघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको अनुसन्धान नगरेको सोमबार आयोगमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
त्यस्तै, नेपालमा चाइजिनहरुको ठूलो तस्करीको समूह एकैपटक समाउँदा करिब ४५ हजार डलर, ३५ हजार घोर्मा (चाइनिज पैसा) र विभिन्न कम्पनीका २४ हजार थान रिचार्ज कार्ड र तीनवटा आईफोन समेत उनले लुकाएको र त्यसमा प्रहरीले उनीमाथि अनुसन्धान नै नगरेको उजुरीमा आरोप लगाइएको छ । हवल्दार ऐरीले सीआईबीमा परेको कुनै पनि उजुरीहरु म मिलाउँछु भन्दै ठगी गर्ने गरेका उनले विराटनगरको सार्वजनिक जग्गाको सीआईबीमा मुद्दा आइपुग्दा तत्कालीन समयमा विराटनगरमा रहेको नेपाल प्रहरीका डीएसपी कमल थापामार्फत घुस लिएको र पछि मिलाउन नसक्दा घुसबापत लिएका पैसा समेत फिर्ता गरेको आयोगमा परेको उजुरीमा उल्लेख छ ।
आपराधिक पृष्ठभूमि रहेका सुराकी निखिल लामाले केरकारका केही प्रहरीहरुको सहायता लिई बौद्धमा व्यापारीको घर खानतलासी गरी सुन लिएर भागेर केरकारका प्रहरीहरुलाई पर्दामा पारेपछि लामाविरुद्ध उजुरी परेको थियो । उजुरीपछि अदालत र प्रहरीले खोजतलास गर्दा समेत लामालाई लामो समयसम्म हवल्दार ऐरीले लुकाई संरक्षण गरी मिलेमतोमा असुली गर्ने गरेको पाइएको उजुरीमा बताइएको छ ।
हाल पनि ऐरीले गौशाला देखि नयाँ बसपार्क सम्मका प्रायजसो मेनपावरमा उठौतीपुठौती हप्ता, महिनावारी लिनुको साथै नयाँ बसपार्कका होटल विशेषगरी तेस्रो लिङ्गीको होटेल मिलनटोलको सोल्टी गेस्ट हाउस, होटल दिप, पाथीभरा गेस्ट हाउस, हिमाल चुलो गेस्ट हाउसलगायतमा खाने बस्ने महिनावारी उठाउने लगायतको कार्यमा संलग्न रहेको उजुरीमा भनिएको छ ।
बैतडीको साधारण परिवारका ऐरीको हाल कञ्चनपुरमा आधुनिक पक्की घर, काठमाडौंको धनेश्वरमा आधुनिक पक्की घर, गोंगबुमा श्रीमतीको करोडको फेन्सी पसल रहेको छ । भाइ सुरेन्द्र ऐरीको खातामा पैसा जम्मा गर्ने उनको श्रीमती निर्मला बानियाँ ऐरी नामको खातामा पोेखरा रहेकी उनको जेठी सासुमार्फत ब्याजमा लगाएको पैसा महिनामा ६० देखि ७० हजार आउने गरेको र समयअनुसार उनी कतै वरिष्ठ सई हुँ भन्ने, कतै इन्स्पेक्टर हुँ भन्दै हिँड्ने समेत गरेको पाइएको उजुरीमा उल्लेख छ ।
नेपाल प्रहरीमा दुई केजी सुन गायबदेखि चाइनिजको करोडौँ गायब पारेका हवल्दार ऐरीले घुस नउठाई एउटा साधारण हवल्दारको करोडौँको सम्पत्ति र राजखानदानजस्तो जीवनशैली कसरी सम्भव भयो भन्दै आयोगलाई निष्पक्षरुपमा छानबिन गर्न माग गरिएको छ ।